पाल्पा - महाशिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिव उत्पति भएको अवसरमा मनाईने हिन्दुहरुको प्रमुख पर्वको रुपमा पर्दछ । भगवान शिवको उत्पति कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्व मनाईने पुराणहरूमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
यस्तै धार्मिक मान्यतालाई ध्यानमा राखी पाल्पा जिल्लाकाे तानसेन नगरपालिका-७ प्रभास स्थित वंशगाेपाल शिव मन्दिरमा मंगलबार महाशिवरात्री मेला हुने भएको छ ।तानसेन नगरपालिका-७ का वडा अध्यक्ष माधव जिसीले हरेक बर्ष झै यस बर्ष पनि शिवमन्दिर महाशिवरात्रीको मेला प्रभास बगाैचामा धुमधामका साथ सम्पन्न गर्न गईरहेको जानकारी दिनुभयाे । उहाँका अनुसार कार्यक्रममा कृषि प्रदर्शनी,सास्कृतिक कार्यक्रम र राष्ट्रिय कलाकारकाे प्रस्तुति रहने बताउनुभयो ।
भाेलि महाशिवरात्री पर्व आज रात भर शिवमन्दिरमा धुनी जगाई स्थानीयवासीले जागाराम बसी शिवको आरधाना गर्ने प्रचलन रहेको छ ।














