पाल्पा – एमसीसी संसदबाट अनुमोदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभावले पाल्पाको जनजीवन प्रभावित बनेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । पाल्पामा सार्वजानिक सवारी नचलेको र सदरमुकामबाट बाहिरिने तथा भित्रिने सवारी पनि नचलेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सदरमुकामका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय जिल्ला भित्र फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द आह्वानको प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ ।
लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।













