बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एम.आर.आई मेशिन ल्याए छाड्ने दाबी गरेका छन् ।एम.आर.आई मेसिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेशिन गरिद गरिने उनले बताए ।
‘यसअघि अघि बढाइएको टेन्डर प्रक्रियामा कुनै एक कम्पनीलाई मात्रै लक्षित गरी स्पेसिफिकेशन गरिएको भनेर समाचारहरु आए, विरोध भए । अब उक्त प्रक्रियालाई मिलाएर सबैले प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी स्पेसिफिकेशन तयार हुन्छ । अब नयाँ प्रक्रियाबाट मेशिन खरिद प्रक्रिया अघि बढ्छ, जसरी भए पनि एम.आर.आई मेसिन खरिद गरी जनतालाई सस्तो दरमा सेवा प्रदान गर्न सरकार प्रतिवद्ध छ ।’ बुटवलमा रहेको गौतमवुद्ध सामुदायक मुटु अस्पतालको १२ औं वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा बोल्दै स्वास्थ्यमन्त्री सारुले सरकारी अस्पतालमा एम.आर.आई मेशिन नहुँदा जनताले १५/१6 हजार तिरेर निजी स्वास्थ्य संस्थामा महङ्गोमा पैसा तिरेर सेवा लिनु पर्ने बाध्ययतालाई अन्त्य गर्दै मेशिन खरिदपछि त्यो भन्दा आधा मूल्यमा सेवा उपलब्ध गराउन सकिने बताए । स्वास्थ क्षेत्रमा भएक विकृतिहरुलाई अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता रहेको समेत प्रतिबद्दता समेत उनले गरे ।
सामुदायिक स्तरबाट स्थापना गरिएको बुटवलको सामुदायिक मुटु अस्पतालमा सामाजिक सुरक्षा अन्तर्गत जनतालाई उपलब्ध गराइएका स्वास्थ्य सेवा तथा दिर्घ रोगिको उपचार गरेबापत संघीय सरकारबाट प्राप्त गर्नुपर्ने रकम उपलब्ध गराउनका लागि आफूले समन्वय र पहलको भूमिका निर्वाह गर्ने समेत प्रतिवद्धता गरे ।
त्यस्तै गरि लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले वर्तमान सरकारलाई काम गर्नका लागि हालसम्मकै सहज परिस्थिति रहेको पनि उल्लेख गर्दै जनताको सेवामा समर्पित हुन आग्रह गरे । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, रोटरी क्लबका गभर्नर देवेन्द्र ध्वजु, बुटवल उद्योग संघका अध्यक्ष दिलिप सापकोटा तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले अस्पतालको भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रियालाई सरकारले छिटो टुङ्गोमा पुर्याउन आग्रह गरे ।













