सुमित्रा कंडेल,पाल्पा-
बगनासकाली गाउँपालिकाले आ व २०८१।०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र बगनासकाली पत्रकार समूहको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ मा गाउँपालिकाले सम्पादन गरेका काम तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। २०८१।०८२ को २३७ योजना रहेको बताउदै १६६ योजना सम्झौता भैसकेको,७१ योजना जसमध्ये लक्षित वर्गका ३० योजना र भौतिक पुर्वाधार तर्फ ४० योजना सम्झौता हुन बाकी रहेको जानकारी दिनुभयो।उहाले यो आ व मा भौतिक पुर्वाधार,योजना तर्फको लक्ष्यका बारेमा जानकारी दिदै प्रथम चौमासिक अन्र्तगत चालु खर्च तर्फ कुल विनियोजित रकमको २२.७३ प्रतिशत र पुजिँगत तर्फ कुल विनियोजित रकमको १८.२ प्रतिशत रकम खर्च भएको बताउनुभयो।
सेवाग्राहीहरुको जिज्ञाशाको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने विषयमा गाउँपालिका सम्वेदनशील रहेको बताउनुभयो । उहाले गाउँपालिकाले सिमीत स्रोत र साधनका बाबजुद पनि बिकास र्निमाणका काममा सबैको साथ र सहयोगमा कामगर्ने, कृषि शिक्षा स्वास्थ्य लगायतका, बिभिन्न कार्यक्रमहरु पालिकाको प्रमुख महत्व भित्र रहेको बताउनुभयो ।उहाले नागरिकलाई सहज सुविधा दिने कुरामा बगनासकाली गाउँपालिका निरन्तर लागिपरेको समेत बताउदै सार्वजनिक सुनुवाईमा उठेका विषय र आएका सुझावहरुलाई आत्मसात् गर्दै आगामी दिनमा अगाडि बढ्ने समेत प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले जनताका गुनासोलाई यथासिघ्र संवोधन गरिने बताउनुभयो । उहाले आफूहरु साझा जनप्रतिनिधिको रुपमा रही जनताको असल सेवकको रुपमा लागिपरेको बताउदै गाउँपालिकाका विकास निर्माणलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा सेवाग्राहीहरुले बगनासकाली गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाह, नागरिकका अपेक्षा,ज्येष्ठ नागरीक सम्मानका क्रममा वितरण गरीएको हर्लिक्स म्याद गुज्रिएको लगायतका विषयमा जिज्ञाशाहरु राखेका थिए । सेवाग्राहीहरुले गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन अल्पकालिन र दिर्घकालिन योजना बनाई काम गर्नुपर्ने, बाँदर समस्या बढ्दै गएको, कृषि तथा पशुपालनका कार्यक्रमहरुमा युवाहरुको आकर्षण बढ्न नसकेको, नदीजन्य पदार्थहरुको निकासीमा भएको प्रक्रिया, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जनताले सोचेजस्तो प्रगति नदेखिएको लगायतका विषयमा जिज्ञाशाहरु राखेका थिए ।
सेवाग्राहीहरुले उठान गरेका विषयहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छिनालसहित पालिका अध्यक्ष,उपाध्यक्ष, र बिषयगत शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो।
कार्यक्रममा बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपाने द्धारा सार्वजनिक सुनुवाईका क्रममा संकलन गरिएको नागरिक अभिमत र सेवाग्राहीहरुको अभिमत्रपत्रको सार प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेले गर्नुभएको थियो भने कार्यक्रम पालिकाका अध्यक्ष सरस्वती चिदिको अध्यक्षतामा चलेको थियो ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,पालिकाका जनप्रतिनिधि,कर्मचारी,पत्रकार लगायतको सहभागिता रहेको थियो।













