पाल्पा-
पाल्पाको तानसेन नगरपालिका वडा न २ का नागरिकले कौशी खेती सम्बन्धि एक दिने तालिम पाएका छन। सोहि अवसरमा कौशी खेतीका लागि आवश्यक पर्ने सामाग्री पनि वितरण गरेको हो।
तालिमको प्रमुख अतिथि तानसेन नगर पालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले कौशी खेतीसम्बन्धी एक दिने तालिम तथा सामग्री वितरण कार्यक्रम गरि वडा कार्यालयले प्रशंसानीय कार्य गरेको बताउनुभयो । नगरपालिकाले कृषिबाट नै नगरवासीहरूको जीवनस्तर सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको परिस्थितिमा कौशी खेतीलाई प्रवर्द्धन गर्दै आधुनिक कृषि पद्धतिको प्रयोगमार्फत स्वच्छ, हरियाली र आत्मनिर्भर नगर बनाउन यो तालिमले सहयो पुग्ने बताउनुभयो ।
कौशी खेतीले सिमित ठाउँमा पनि तरकारी, फलफूल तथा अन्य खेती गर्न सकिने मात्र नभई, यसले वातावरण सुधार, स्वच्छ हावा प्राप्ति, र परिवारको पोषणस्तरमा सुधारमा समेत योगदान दिने बताउनुभयो ।
कार्यक्रममा वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले तालिममा वडा वासीहरूलाई कौशी खेतीसम्बन्धी नवीनतम प्रविधि,प्रक्रिया, र कार्यान्वयनका चरणहरूको ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । साथै, उहाले वितरण गरिने सामग्रीले खेती सुरु गर्न सहज बनाउने बताउनुभयो । तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो व्यवहारमा लागू गर्दै वडाको समग्र विकासमा योगदान पुर्याउने गरि काम गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।













