भाद्र २४ बुटवल ।
रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा आठौ रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता २०८१ हुने भएको छ। सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि संघका अध्यक्ष सुजल पुनले असोज ६ गते हुने प्रतियोगिताको तिव्र तयारी भैरहेको बताए। स्नुकरको क्रेज र विकासको गतिलाई जोड्ने गरि प्रतियोगिताहरु जरुरी रहने भन्दै उनले रुपन्देही खेलाडी जन्माउने उर्वरभुमि भएको दाबी गरे। भैरहवा नारायणथानस्थित क्रेजि क्यु क्लब हाउसमा हुने प्रतियोगितामा तयारी अन्तिम चरणमा पुगेको उनले बताए। रुपन्देहीमा राष्ट्रिय प्रतियोगिता समेत गर्ने तयारीमा रहेको भन्दै उनले बताए। यसैगरि स्नुकर खेलको विकास र प्रचारप्रसारमा संचार क्षेत्रबाट भएको योगदानलाई मध्येनजर गरि पत्रकार सम्मान कार्यक्रम समेत निरन्तरता दिने उनले बताए।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले रुपन्देही जिल्लाका विभिन्न पालिकाहरुमा यो खेल हुने गरेको हुदा पनि फरकफरक क्षेत्रमा प्रतियोगिता गर्ने अभ्यास शुरु गरेको बताए। स्नुकर प्रतिको आम नागरिक र प्रहरी, प्रशासनको सोचलाई परिवर्तन गर्न यहाका संचारकर्मीहरुको महत्वपुर्ण भुमिका रहेको समेत उनले बताए। संस्थालाई नया र युवाहरुबाट निरन्तर पुस्तान्तरणलाई जोड दिनुपर्ने उनले सुझाव दिए।
कार्यक्रममा संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले स्नुकर खेलप्रतिको युवाहरुको आकर्षणलाई मध्येनजर गरि प्रतियोगिता गर्न लागेको बताए । पहिलो पटक भैरहवामा आयोजना हुन लागेको प्रतियोगितालाई भब्य र सभ्य रुपमा सफल बनाउने गरि तयारीमा लागेको उनले बताए। रुपन्देही जिल्लामा आवद्घ रहेका सदस्यले भाग लिन पाउनेछन। राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरु भाग लिन सक्ने छन।एक सय बढी खेलाडीहरुले भाग लिने प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि हाईयस्ट ब्रेकरलाई नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, स्नुकर संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष राजु प्रधान, संघका सचिव प्रकाश क्षेत्रीले खेल विकासमा स्थानिय सरकारको सहयोग जरुरी रहेको बताए। हाल रुपन्देहीमा ४४ वटा स्नुकर हाउसहरु संचालनमा छन भने धेरै राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी रुपन्देहीबाट उत्पादन भएका छन।