भाद्र २३ पाल्पा । युवा ज्योतिष दशरथ पाण्डेय
प्रचलित पात्रोअनुसारको भाद्रशुक्ल–पञ्चमीलाई ऋषिपञ्चमी पनि भन्दछन्। यस पञ्चमीमा रजस्वला भैसकेका नारीहरूले व्रत बसेर सप्तर्षिको पूजा गर्दछन्। रजस्वला हुँदा पालन गर्नुपर्ने नियमहरू वेद, वेदाङ्ग, स्मृति, पुराण, रामायण, महाभारत, साहित्य इत्यादि वाङ्मयमा र आयुर्वेदमा समेत स्पष्ट रूपमा नै बताइएकाले ती नियमको धर्म, अध्यात्म तथा स्वास्थ्यसित सम्बन्ध रहेको स्पष्ट रूपमा बुझिन्छ। त्यसैले यस अवस्थामा यथासम्भव विधिपूर्वक शास्त्रीय नियमहरूको पालन गर्ने काम पति, पत्नी र भावी सन्ततिका निम्ति पनि विविध दृष्टिकोणले कल्याणकारी हुन्छ। असल सन्तति प्राप्त गर्न पनि रजस्वला भएदेखि नै सावधानीका साथ शास्त्रनिर्दिष्ट विधि र निषेधहरूको अनुसरण गर्नुपर्ने कुरा शास्त्रमै उल्लिखित छ।
रजस्वलावस्थामा स्पृश्यास्पृश्य इत्यादिका विविध नियम पालन गर्नुपर्ने कुरा शास्त्रमा कतै उल्लेख गरिएका पनि छैनन् र ती नियमको पालन गर्न आवश्यक पनि छैन भनेर समेत कसैकसैले बोल्दैलेख्दै हिँडेको देखिन्छ। तर सम्पूर्ण वैदिक शास्त्रमा त्यस्ता नियम सर्वत्र उल्लिखित भएकाले यसप्रकारका भ्रमात्मक व्याख्याबाट आस्तिक मान्छे बहिकन हुँदैन। शास्त्रै नमान्नेहरूले भनेका कुरा शास्त्र मान्नेहरूले सुन्न आवश्यक नै भएन।
( रजस्वलाव्रतको वेदमै उल्लेख भएको कुराको पनि सप्रमाण परिचर्चा गरिसकिएको छ।
रजस्वलावस्थामा हुने अशुद्धि र शुद्धिको प्रक्रिया
विभिन्न अवस्थामा स्त्री मात्र हैन पुरुषसमेत अशुद्ध हुने कुरा धर्मशास्त्रमा बताइएको छ। प्राकृतिक अवस्था विशेषले गर्दा पनि मान्छे अशुद्ध हुने र त्यो अवस्था हटेपछि पुनः शुद्ध हुने कुरा सबैले बुझ्न सक्ने नै विषय हो। तथापि पूर्वाग्रहविशेषले गर्दा वा कुशिक्षाले गर्दा वा वैदिक धर्मका मूल्य र मान्यतामा प्रहार गर्न चाहने विदेशीविधर्मीहरूका आर्थिक प्रलोभनमा परेर तिनकै इसारामा चल्नाले वा कतिपय व्यक्तिहरूले यस विषयलाई ठिक प्रकारले हृदङ्गम गर्न नसकिराखेको पनि देखिन्छ।
रजस्वलावस्थामा स्त्री अशुद्ध हुने कुरा वेद स्मृति पुराण इत्यादि वाङ्मयमा सर्वत्र उल्लिखित छ र त्यस अवस्थामा तीन दिन तीन रातसम्म स्त्रीलाई अलग बस्न निर्देश पनि दिइएको छ। यस अवधिलाई आशौचका रूपमा लिन सकिने देखिन्छ। वसिष्ठधर्मसूत्रमा (५।५, ६) तीन रात आशौच रहने र त्यसपछि शुद्ध हुने कुरा बताइएको छ–
मासिमासि रजो ह्यासां दुष्कृतान्यपकर्षति।
त्रिरात्रं रजस्वलाऽशुचिर्भवति।।
आङ्गिरसस्मृतिमा (श्लोक ३५) रजोनिवृत्ति भएमा चौथो दिनमा स्नानपछि शुद्ध हुने कुरा उल्लेख गरिएको छ–
स्नात्वा रजस्वला चैव चतुर्थेऽह्नि विशुध्यति ।
कुर्याद् रजसि निवृत्तेऽनिवृत्ते न कथञ्चन।।
रजस्वला स्त्री चौथा दिनमा रजोनिवृत्ति भएपछि स्नान गरेपछि पतिका निम्ति चोखिने र देवपितृकार्यका निम्ति पाँच दिनमा शुद्ध हुने उल्लेख विष्णुधर्मोत्तरपुराणमा (२।७९।१७, १८) पाइन्छ–
शुद्धा भर्तुश्चतुर्थेऽह्नि स्नाता नारी रजस्वला ।
दैवकर्मणि पित्र्ये च पञ्चमेऽहनि शुध्यति ।।
कतै पितृकर्मका निम्ति सात दिनमा मात्र चोखिने कुरा उल्लिखित देखिन्छ र नेपालमा यही पक्षको कतिपयले अनुसरण गरिरहेको पनि देखिन्छ।
यस प्रकार वैदिक शास्त्रहरूमा रजस्वला स्त्रीले तीन रात छुट्टै बस्न पर्ने निर्देशन दिएर अशुद्धिका विषयमा स्पष्ट विधान गरेको पाइन्छ। शुद्धि र अशुद्धिका विषयमा आधुनिक दृष्टिकोण भौतिकवादी मात्र भएकाले त्यसले सूक्ष्म विश्लेषण गर्न सकेको देखिँदैन। शारीरिक शुद्धि र मानसिक शुद्धिको धार्मिकआध्यात्मिक अनुष्ठान र साधनाका निमित्त विशेष महत्त्व हुन्छ। मलमूत्रादिको त्यागपछि शुद्धि भएजस्तै रजस्वलाको अवस्था बितेपछि आन्तरिक शुद्धि हुन्छ।
रजस्वला भएका अवस्थामा धार्मिक आध्यात्मिक र भौतिक दृष्टिले समेत अशुद्धि हुने भएकाले वेद स्मृति इत्यादि वाङ्मयमा त्यस अवस्थामा तीन दिनसम्म स्त्रीलाई अलग बस्ने निर्देश दिइएको हो। पुराणहरूमा (स्कन्दपुराण, ब्राह्मखण्ड २।७।२६२७, काशीखण्ड ४।२२२३) पनि रजस्वला भएका अवस्थामा कसैको पनि मुख नहेर्ने गरी तीन दिनसम्म अलग बस्ने र तीन दिन बितेपछि सूर्योदयपश्चात् स्त्रीले शुद्धिका लागि टाउकोसमेत नुहाएर पतिको मुख हेर्ने, पति नजिक नभए पतिलाई सम्झेर सूर्यको दर्शन गर्ने पनि निर्देश दिइएको पाइन्छ–
स्त्रीधर्मिणी त्रिरात्रं तु स्वमुखं नैव दर्शयेत्।
स्ववाक्यं श्रावयेन् नाऽपि यावत् स्नात्वा न शुध्यति (स्नाता न शुद्धितः)।।
सुस्नाता भर्तृवदनमीक्षतेऽन्यस्य न क्वचित्।
अथवा मनसि ध्यात्वा पतिं भानुं विलोकयेत्।।
वैदिक परम्पराका स्त्रीहरूले यस रजस्वलाव्रतको महत्त्व बुझेर वा नबुझीकनै पनि यथासम्भव नियमहरूको पालन गर्दै आएका छन्। सरसफाइका दृष्टिले पहिलापहिला रजोवती स्त्रीलाई छुट्टै राख्ने गरिएको हो, त्यति वेला रक्तस्रावलाई व्यवस्थित गर्ने ‘प्याडʼ इत्यादि सामग्रीको सुविधा थिएन, ऐले त विविध सामग्रीको उपलब्धता छ, त्यसैले त्यस्ता छुट्टै बस्ने नछुने इत्यादि नियमहरूको पालन गरिरहनुपर्दैन भन्ने गरेको पनि कतैकतै सुनिन्छ। ‘प्याड लगाएपछि दिनभरि म फिट (ठिकठाक) रहन्छुʼ भन्दै मज्जाले उफ्रिएकोकुदेको व्यापारिक विज्ञापन बारम्बार हेरेरसुनेर त्यही मिथ्या कुरालाई वैज्ञानिक र वास्तविक ठान्दै तथा परम्परागत हितकारी शास्त्रीय मान्यतालाई अन्धविश्वास ठान्दै हुर्किएको नयाँ पुस्ताले शास्त्रीय विधिको लोककल्याणकारिता बुझ्न नसकिराखेको देखिन्छ। तथापि ऋषिमुनिहरूजस्ता धर्म अध्यात्म आयुर्वेद इत्यादिका दिव्य ज्ञानले युक्त महापुरुषहरूले विनाकारण कुनै पनि नियम बनाएका छैनन् होला भनेर साधारण व्यक्तिले समेत सहजै अनुमान गर्न सक्छन्। ती कारणमध्ये कतिपय हामी अल्पज्ञहरूले बुझ्न पनि सकौँला र कतिपय बुझ्न नसकौँला पनि।
रजस्वला हुँदा दूषित रज र विकार प्रवाहित हुने भएकाले त्यस अवधिमा अलग्गै बस्ने-सुत्ने व्यवस्था भौतिक दृष्टिले समेत महत्त्वपूर्ण छ। यसरी दूषित रज र विकार बगेर पाठेघर शुद्ध भएपछि मात्र गर्भाधान गरेर असल सन्तान जन्माउन सकिने कुरा शास्त्रमा बताइएको छ। आयुर्वेदमा पनि यस विषयमा विस्तृत रूपमा चर्चा गरिएको पाइन्छ। कतिपयले त्यही दूषित रजमा नै बच्चा बनाउने सामर्थ्य हुन्छ भन्ने ठानेको पनि देखिन्छ। तर वास्तविकता त्यस्तो हैन। रजस्वला स्त्रीका रजःस्रावमा भ्रूणका रूपमा विकसित हुन नपाएर मरेको अण्डा पनि हुने गर्दछ। त्यसैले यो रज र यस्ता अवस्थाकी स्त्री पनि अशुद्ध हुन्छन्। रजस्वला हुँदा स्त्री शारीरिक र मानसिक रूपमा कमजोरसमेत हुने तथा उसमा बेचैनी, चिडचिडाहट, क्रोध इत्यादि अनपेक्षित मनोभावहरू पैदा हुने गरेको पनि पाइन्छ। यस्ती स्त्रीले निश्चित विधि र निषेधको पालन गर्दै त्यो समयावधि एकान्तमा शान्तिपूर्ण तरिकाले व्यतीत गर्नुपर्ने कुराको उल्लेख शास्त्रमा यत्रतत्र गरिएको छ। ती नियमहरूको पालनलाई रजस्वलाव्रत भनिन्छ।
तपस्या वा व्रतका निम्ति नियमपालन
रजस्वला स्त्रीका धर्मलाई गम्भीरतापूर्वक हेर्दा तपस्या वा व्रतका रूपमा पनि लिन सकिन्छ। यो स्त्रीको आत्मशुद्धिकरणको प्रक्रिया पनि हो। मनुष्यजीवनमा तपस्या वा व्रत अत्यन्त आवश्यक तत्त्व हुन्। जीवन सार्थक वा सफल बनाउन सुख र सजिलो मात्र खोजेर हुँदैन। कठोर नियमका अनुशासनमा बस्ने व्यक्तिले मात्र जीवनमा लक्ष्य प्राप्त गर्न सक्दछ। सबै प्रकारका बाधाव्यवधानलाई परास्त गरेर लक्ष्य प्राप्त गर्न तपस्याको महत्त्वपूर्ण भूमिका रहन्छ। त्यसैले रजस्वलाव्रतलाई तपस्याका रूपमा लिएर पनि तदनुरूप आचरण गर्नु वाञ्छनीय देखिन्छ।
रजस्वला हुँदा लगाउने वस्त्र र ओढ्ने-ओच्छ्याउने सामग्री छुट्टै बनाउनु उपयुक्त हुन्छ। लागेपुगेसम्म त कोठा नै अलग बनाउन उचित हुन्छ, जहाँ शान्तिपूर्ण तरिकाले बस्न सकियोस्। स्त्रीहरूको विश्रामका निम्ति आयुर्वेदले निर्देश गरेअनुसारको सुविधासम्पन्न छुट्टै विशेष प्रकारको घर (अरिष्टगृह) मूल आवासगृहकै नजिकै बनाएर राख्ने प्राचीन आर्यहरूको चलन रहेको थियो।
गम्भीर भएर विचार गर्दा तपस्या वा व्रतले शरीर, बुद्धि, मन र इन्द्रियहरूलाई नियन्त्रण गर्न सहयोग गर्दछ भन्ने बुझिन्छ। काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता भावनात्मक अशुद्धि नाश गर्न पनि तपस्या वा व्रतले महत्त्वपूर्ण भूमिका खेल्दछ। चञ्चलता र अस्थिरतालाई नाश गरी मनुष्यजीवनको अन्तिम लक्ष्य मोक्ष प्राप्त गर्न चाहिने ज्ञान पनि तपस्याविना प्राप्त हुन सक्तैन। त्यसैले रजस्वला हुँदा तपस्याकै रूपमा विभिन्न व्रत र नियमहरूको पालन गर्न शास्त्रमा निर्देशन दिइएको हो। माथि लिङ्कमा उल्लेख गरिएका लेखमा कृष्णयजुर्वेदको तैत्तिरीयसंहिताका (२।५।१।५–७)। वचनहरू उद्धृत छन्। त्यस्तैत्यस्तै वचन वसिष्ठधर्मसूत्रमा (५।७) पनि पाइन्छन्–
सा नाऽञ्ज्यात्, नाऽभ्यञ्ज्यात्, नाऽप्सु स्नायात्, अधः शयीत, न दिवा स्वप्यात्, नाऽग्निं स्पृशेत्, न रज्जुं सृजेत्, न दन्तान् धावयेत्, न मांसमश्नीयात्, न ग्रहान् निरीक्षेत, न हसेत्, न किञ्चिदाचरेत्, न खर्वेण पिबेत्, अञ्जलिना वा पिबेदखर्वेण वा पात्रेण लोहितायसेन वा ।।
अर्थात्– रजस्वला भएकी स्त्रीले गाजल नलगाओस्, तेल नघसोस्, जलमा डुबेर ननुहाओस्, (खाटमा वा अग्लो स्थानमा हैन) भूमिमा सुतोस्, दिउसो नसुतोस् (ननिदाओस्), अग्निलाई नछोओस्, डोरो नबाटोस्, दाँत नमाझोस्, मासु नखाओस्, ग्रहतारा नहेरोस्, नहाँसोस्, केही काम नगरोस्, फुटेको भाँडाले पानी नपिओस्, नफुटेको भाँडाले वा अँजुलीले वा तामाको भाँडाले पानी पिओस्। यस्ता अरू पनि शास्त्रीय विधि र निषेधको पालन गर्नुपर्ने उल्लेखहरू पाइन्छन्। भोजनका नियम पनि छन्।
अरिष्टगृह (छाउघर)
रजस्वला हुँदा लगाउने वस्त्र र ओढ्ने-ओच्छ्याउने सामग्री छुट्टै बनाउनु उपयुक्त हुन्छ। लागेपुगेसम्म त कोठा नै अलग बनाउन उचित हुन्छ, जहाँ शान्तिपूर्ण तरिकाले बस्न सकियोस्। स्त्रीहरूको विश्रामका निम्ति आयुर्वेदले निर्देश गरेअनुसारको सुविधासम्पन्न छुट्टै विशेष प्रकारको घर (अरिष्टगृह) मूल आवासगृहकै नजिकै बनाएर राख्ने प्राचीन आर्यहरूको चलन रहेको थियो। नेपालका प्राचीन मुख्य तीन साम्राज्य जुम्ला, काठमाण्डु र सिम्रौनगढमध्येको जुम्ला साम्राज्य (यमलपर्वत साम्राज्य) अत्यन्त समृद्ध रहेकाले त्यहाँको सभ्यतामा रजस्वला र सुत्केरी महिलाका निम्ति त्यसरी सुविधासम्पन्न आरामदायी अलग्गै घर बनाउने र त्यहीँ सुरक्षित गरी बस्ने प्रचलन रहिआएको देखिन्छ। पछिपछि विविध कारणले राज्यको आर्थिक हैसियत घट्दै गएपछि घरहरू सुविधासम्पन्न बनाउन नसकिएकाले त्यसलाई गोठ भन्न थालिएको हुन सक्छ। गरिबीले आवासगृह (सधैँ बस्ने घर) नै सुविधापूर्ण बनाउन नसकेका अवस्थामा त्यहाँ छाउघर सुविधासम्पन्न बनाउन नसकिनु स्वाभाविकै हो। नेपालका अन्य भागमा चाहिँ उहिल्यै पनि राज्यमा समृद्धि कमै भएकाले होला छुट्टै घर बनाउने सामर्थ्य नहुँदा अलग्गै कोठाको व्यवस्था गर्ने र त्यसमै रजस्वला र सुत्केरी स्त्री बस्ने चलन रहिआएको बुझिन्छ। रजस्वला बस्ने घर वा कोठा सकेसम्म सुविधासम्पन्न र सुरक्षित गरी बनाउन उचित हुन्छ। महाकवि कालिदासले पनि अरिष्टगृहको उल्लेख रघुवंशमहाकाव्यमा यसरी गरेका छन्– अरिष्टशय्यां परितो विसारिणा … (३।१५)।
यसरी सुविधापूर्ण र सुरक्षित कोठाको व्यवस्था हुनुपर्नेमा त्यस्तो नभएका स्थानमा बस्दा स्त्रीहरूले भोग्नुपर्ने अनपेक्षित अवस्थालाई निराकरण गर्न बस्ने स्थानमा सुधार गरी त्यसलाई सुरक्षित र सुविधापूर्ण बनाउनुपर्छ। शास्त्रीय आधारमा आशौच, व्रत, तपस्या, विश्राम र स्वास्थ्यपरिपालन इत्यादिलाई दृष्टिमा राखेर ती स्थानहरूमा सुरक्षित अरिष्टगृहहरूको (छाउघरहरूको) निर्माण गर्न उपयुक्त हुन्छ। अविवेकी तरिकाले बहकाउमा आएर विना गम्भीर अनुसन्धान छाउघर भत्काउनु अज्ञान मात्रै हो भन्ने देखिन्छ। धार्मिक तथा सांस्कृतिक प्रचलनलाई आलोचना गर्नुभन्दा त्यसभित्र रहेका युक्तिसङ्गत र कल्याणकारी कारणहरूको अन्वेषण गर्नुपर्दछ। नेपालमा गम्भीर रूपमा विषयको विवेचना गर्न सक्ने प्राज्ञहरूको वा विद्वान् व्यक्तिहरूको अभाव देखिन्छ। नेपालको प्रज्ञा प्रतिष्ठानले समेत ‘छाउपडी प्रथा र यसको मनोसामाजिक प्रभावʼ भन्ने, शीर्षकमै अशुद्धि भएको, हाम्रा धर्मसंस्कृतिपरम्पराहरूका द्वेषी विदेशीहरूको हस्तक्षेपकारी नीति र योजनाअनुसार एनजिओआएनजिओहरूले छाप्नेजस्तो एउटा पुस्तक लेखाएर प्रकाशित गरेको रहेछ (नारायणप्रसाद रेग्मी, नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाण्डु, २०७५)। यस पुस्तकबाट प्रज्ञाप्रतिष्ठानका प्राज्ञ र लेखकहरूलाई आयुर्वेदको अरिष्टगृहको अवधारणा, प्रयोजन र वैशिष्ट्यको सामान्यज्ञान मात्रै पनि नभएको स्पष्ट हुन्छ।
रजोवती स्त्रीसित सहवासको निषेध
“कामवासनाले उन्मत्त भएका अवस्थामा पनि रजस्वला भएकी स्त्रीसित सहवास नगरोस्, ऊसित एउटै शय्यामा नसुतोस्” भनेर मनुस्मृतिमा भनिएको छ–
नोपगच्छेत् प्रमत्तोऽपि स्त्रियमार्तवदर्शने ।
समानशयने चैव न शयीत तया सह ।।४।४०।।
“रजस्वला भएकी स्त्रीसित सहवास गर्ने पुरुषको प्रज्ञा (बुद्धि), तेज, बल, चक्षु र आयु पनि क्षीण हुन्छन्। त्यस्ती स्त्रीसित सहवास नगर्ने पुरुषको चाहिँ उक्त कुराहरू बढ्छन्” भनेर पनि मनुस्मृतिमै भनिएको छ–
रजसाऽभिप्लुतां नारीं नरस्य ह्युपगच्छतः।
प्रज्ञा तेजो बलं चक्षुरायुश्चैव प्रहीयते ।। ४।४१।
तां विवर्जयतस् तस्य रजसा समभिप्लुताम्।
प्रज्ञा तेजो बलं चक्षुरायुश्चैव प्रवर्धते ।। ४।४२।
विश्रामका निम्ति रजस्वलाव्रत
रजस्वला भएका समयमा स्त्रीले विश्राम गर्नुपर्ने कुरा धर्मशास्त्रमा र आयुर्वेदमा पनि उल्लिखित छ। यस्ता अवस्थामा घरेलु कामकाज पनि नगर्न वसिष्ठधर्मसूत्रमा निर्देश दिइएको छ। रजोवती स्त्रीहरूले शारीरिक पीडा (दुखाइ) वा असामान्य स्थिति भोग्नुपर्ने पनि भएकाले विश्रामको नियम अत्यन्त आवश्यक देखिन्छ। जापान, दक्षिण कोरिया, इण्डोनेशिया, स्पेन इत्यादि कतिपय देशले रजस्वला स्त्रीको अवस्थालाई ध्यानमा राखेर उनीहरूप्रति न्याय गर्दै रजस्वला हुँदा स्त्रीले कामबाट अवकाश लिन पाउने व्यवस्था गरेको बुझिन्छ। यसबाट पनि रजस्वला हुँदा स्त्रीलाई विशेष विश्रामको आवश्यकता पर्छ भन्ने कुराको नै पुष्टि हुन्छ ।
शास्त्रीय रजस्वलाधर्मको आधुनिक व्याख्या
भारतीय धार्मिक अन्वेषक लेखक तथा एञ्जिनियर नितिन श्रीधरले ‘हिन्दु व्यू अव् मेन्ष्ट्रुएशन्ʼ शीर्षकका शृङ्खलामा प्रकाशित ६ ओटा लेखमा (इण्डिया फ्याक्ट्स्, सन् २०१६) र ‘मेन्ष्ट्रुएशन् अक्रोस् कल्चर्ज् – अ हिष्टोरिकल् पस्पेक्टिव् (सन् २०१८)ʼ भन्ने पुस्तकमा रजस्वलासम्बद्ध हिन्दु दृष्टिकोणका विविध आयामहरूलाई गहिराइमा पुगेर व्याख्या गरेका छन्। त्यसै गरी भारतीय एञ्जिनियर तथा रजस्वलासम्बद्ध स्वास्थ्य-शिक्षिका सिनु जोसेफले पनि ‘ऋतु विद्या – एन्शण्ट् साइन्स् बिहाइण्ड् मेन्ष्ट्रुअल् प्र्याक्टिसिज् (सन् २०२०, हिन्दी अनुवाद– ऋतु विद्या – मासिक धर्म प्रथाओं के पीछे का प्राचीन विज्ञान, सन् २०२३)ʼ भन्ने पुस्तकमा रजस्वलासम्बद्ध हिन्दु धार्मिक दृष्टिकोणलाई वैज्ञानिक तथ्यसँगसँगै तुलना गर्दै प्रस्तुत गरेकी छन् र परम्परागत मान्यतालाई विज्ञानसम्मत बताएकी छन्। उनी भारतीय किशोरीहरूका माझ रजस्वलासम्बद्ध धार्मिकसांस्कृतिक प्रचलन र मान्यताको औचित्यकै प्रचारप्रसारमा लागिरहेको पनि बुझिन्छ। यी दुवै जनाको तर्कपूर्ण र प्रभावशाली श्रव्यदृश्य सामग्री युटुबमा पनि अङ्ग्रेजी भाषामा उपलब्ध छ। उक्त पुस्तक र प्रवचनहरू पढेर हेरेर सुनेर बुझेर र मनन गरेर पनि शास्त्रीय रजस्वलाव्रतका विषयमा नवशिक्षितहरूमा फैलाइएको अतथ्यपूर्ण भ्रम हटाउन सकिन्थ्यो कि?
उपसंहार
रजस्वला स्त्रीले पालन गर्नुपर्ने वैदिक शास्त्रमा प्रतिपादित विविध नियमहरूको सप्रमाण यस परिचर्चाबाट हाम्रा परम्परागत सम्बद्ध आचरणका जिज्ञासु आस्तिकजनको केही मात्रामा भए पनि कुतूहलता शान्त भयो होला। आयुर्वेदमा पनि यस विषयको प्रतिपादन भएकाले यो विषय स्वास्थ्यसित पनि सम्बद्ध हो भन्ने कुरा स्पष्ट नै छ। आयुर्वेदले प्रतिपादन गरेका रजस्वलासम्बद्ध नियमहरूको थप चर्चा र विवेचना अनुकूल पर्दा फेरिफेरि पनि गरिनेछ ।