२५ साउन,पाल्पा
साउन शुक्लपक्षको पञ्चमी तिथिलाई नागपञ्चमी भनिन्छ। नागपञ्चमीमा नागको पूजा गरेर घरको मूलढोकाको दुवैतिर नाग टाँस्ने हाम्रो सांस्कृतिक परम्परा छ । मुख्यतया नाग आठ प्रकारका छन् ।
अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः। कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः। १- अनन्त, २- वासुकि, ३-पद्म, ४- महापद्म, ५-तक्षक, ६-कुलीर, ७-कर्कट र ८- शङ्ख । पञ्चमी तिथिका अधिष्ठातृ देवता नाग भएका हुँदा त्यस दिन नागको पूजा गर्ने परम्परा चलेको हो । यस विषयमा देवीपुराणको वचन यसप्रकार छ( पञ्चम्यां पूजयेन्नगाननन्ताद्यान् महोरगान् । क्षीरं सर्पिस्तु नैवेद्यं देयं सर्वसुखावहम् । भविष्यपुराणको वचन यसप्रकार छ- श्रावणे मासि पञ्चम्यां शुक्लपक्षे नराधिप । द्वारस्योभयतो लेख्या गोमयेन विषोल्बणाः। पूजयेद् विधिवद् वीर दधिदूर्वाङ्कुरैः कुशैः। गन्धपुष्पोपहारैश्च ब्रह्मणानाञ्च तर्पणैः। ये तस्यां पूजयन्तीह नागान् भक्तिपुरस्सराः। न तेषां सर्पतो वीर भयं भवति कुत्रचित् ।।
श्रावणशुक्ल पक्षको पञ्चमीमा गोबरका नाग बनाएर वा नागका चित्र लेखेर ढोकाका दुबैतिर टाँस्ने शास्त्रीय विधान छ । नागहरू भगवान् महादेवका भूषणस्वरूप हुन् भन्ने विषयमा कालिका पुराणमा यसप्रकार वर्णित छ-‘वासुक्याद्याश्च ये सर्पा यथास्थानञ्च ते हरम् । भूषयाञ्चक्रुरुद्गम्य शिरोबाह्वादिषु द्रुतम् । कुनै समयमा ब्रह्माबाट कुनै निमित्तद्वारा मृत्युहुने सङ्केत पाएर वसुकि आदि नागहरू मृत्युबाट बच्नकालागि मृत्युञ्जय स्वरूप शिव र पार्वतीका विवाहमा शिवजीका हातमा, शिरमा र घाँटीमा गहना स्वरूप भएर शिवका शरणमा परे । आफ्ना शरणागत नागलाई शिवजीले सधैँ गहनाका रूपमा धारण गरेर उनीहरूको रक्षा गर्नुभएको हुँदा नागको पूजा आराधना गर्दा शिवजी प्रसन्न हुनुहुन्छ ।
मुख्य नागहरू आठ प्रकारका मानिए पनि यिनीहरूका अतिरिक्त ऐरावत, धनञ्जय , कालिय , मणिनाग, आपूरण , पिञ्जरक, एलापत्र, वामन ,नील,अनिल, कम्बल, अश्वतर ,धृतराष्ट्र , कुण्डोदर , महोदर आदि थुप्रै नागका नामहरू भएको कुरा महाभारतमा उल्लेख छ । (महा. आदि. अध्याय ३५ ) यस दिन घरको मूल ढोकाका दुबैतिर गाईको गोबरले नाग बनाएर वा नागको चित्र टाँसेर त्यसमा कपास, सुपारी, दूवो, कुश चन्दन, अक्षता, लाजा, अबीर, आदिले पूजा गरी दूध, दही र घिउ आदिकासाथै विभिन्न नैवेद्य चढाउनुपर्छ । कतै कतै नागलाई घिउको धारा लगाउने पनि प्रचलन छ। साथै ब्राह्मणहरूलाई सिधा, दक्षिणा र भोजन गराएर तृप्त गराउनु पर्दछ ।
यसो गर्नाले सर्पको भय नहुने , घरमा चट्याङ् नपर्ने र घरको सुरक्षा हुने विश्वास पनि गरिन्छ । नागको पूजागर्ने मन्त्र यसप्रकार छन्- अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते वज्रवारकाः। मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्निभयं नास्ति लिखित्वा गृहमण्डले । सर्पापसर्प भद्रं ते गच्छ सर्प (दूरङ्गच्छ) महाविष । जनमेजयस्य यज्ञान्ते आस्तीकवचनं स्मर ।असितं चार्तिमन्तं च सुनीथं चापि यः स्मरेत् । दिवा वा यदि वा रात्रौ नास्य सर्पभयं भवेत् । यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः। भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा । नागकासाथै मनसादेवीको पनि पूजा गरेर प्रार्थना गर्नुपर्दछ । मन्त्र यसप्रकार छ- आस्तीकस्य मुनेः मातर्जगदानन्दकारिणि ।
एह्येहि मनसे देवि नागेश्वरि नमोऽस्तु ते । (नागमातर्नमोऽस्तु ते । इति पाठान्तरम्।) यसैदिन नागस्थानमा वा पानीको मूल भएका स्थानमा पीठाको अथवा कपासको नागको आकार बनाएर नागपूजा गर्ने प्रचलन पनि छ । यसबाट पानीको स्रोत कहिल्यै सुक्तैन भन्ने मान्यता छ ।।
ॐ हरये नमः ।।













