जेष्ठ, ६ पाल्पा
आई.पि.भी. खोप अभियान २०८१ अन्र्तगत पाल्पामा ९ हजार ४६७ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले आइतवार खोप समन्वय समिति,संचारकर्मी र सरोकारवालाहरु संगको अन्तरकृया एवं छलफलका विच वि.स.२०७३ बैशाख महिना देखि २०७५ असोज सम्म खोप अभावका कारण लगाउन छुटेका बालबालिकाहरुलाई खोप लगाइने जनाएको हो।
पाल्पाका दश स्थानीय तहमा दुई चरणमा गरी छुटेका बालबालिकालाई विद्यालय मार्फत खोप लगाउने तयारी गरेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।
जेठ १३ गते देखि २० गते सम्म पहिलो चरणमा तानसेन नगरपालिका ,बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिकाँ र माथागढी गाउँपालिकामा खोप लगाइने तयारी गरेको छ। त्यस्तै दोस्रो चरणमा जेठ २१ गते देखि २६ गते सम्म रामपुर नगरपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने प्रमखु डा. गिरीले बताए ।
खोप संचालनका लागि ४ सय ४८ विद्यालयमा ५ सय २९ खोप केन्द्र बनाइएको छ । त्यस्तै विद्यालयमा छुटेका बालबालिकालाई सबै वडाका स्वास्थ्य संस्थामा केन्द्र बनाएर खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको हो ।
खोप अभियान प्रभावकारी बनाउन ५ सय २७ जना स्वास्थ्यकर्मी र ५ सय २९ जना विद्यालयका शिक्षक शिक्षिकाबाट स्वयम्सेवक परिचालन गरिने तयारी भएको स्वास्थ्य कर्यालयले जनाएको छ ।













