पाल्पा- लामो समयको खडेरी पश्चात पानि परेपछि धेरैजसो किसानलाइ राहत भएकोले खुसी भएका छन। तर माथागढी ४ का किसान भने हावाहुरीले पाकेको काफल नोक्सान गरीदिएपछि चिन्तीत छन।
झडेवाको मकले गोफदीका स्थानीयहरुले दैनिकजसो बेच बिखन गरी नगद आम्दानी गर्ने काफलहरु सबै झरेर खेर गएका छन। साबिकको झडेवा गा बि स वार्ड न ५ अन्तर्गत पर्ने मकले र गोफदीका स्थानीयहरुले बर्षेनी काफल बेची राम्रो आम्दानी गर्दै आएका थिए।
यस बर्ष पनि गत चैत्र १५ देखि जेठको ३ गते सम्म नीजि तथा सामुदायिक बनबाट गरी कूल ७ लाख २९ हजार ४ सय ८० रुपैयाँ गाउलेहरुले आम्दानी गरेको स्थानीय लालु चिदीले बताउनु भयो। शुरु शुरुमा प्रति माना रु १ सय ६० सम्ममा बिक्री भएको काफल अहिले भने मानाको ६० रुपैयाँमा कारोबार हुने गरेको छ।स्थानीयहरुको काफल देउगीरका ब्यापारी बालकृष्ण न्यौपाने र पदम सिङ्जालीले खरिद गरी बुटवल र स्याङ्जा पठाउने गर्दै आउनु भएको छ।
त्यस्तै रिब्दीकोट ४ कुन्नीगैराका नारायण गन्धर्वले काफल बिक्रिबाट राम्रो आम्दानी गर्नुभएको छ।फुर्सद्को समयमा काफल बेच्न जाने गन्धर्वले दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।
गन्धर्व आफैले ।बेलुका र बिहान काफल टिप्ने दिनभर हार्थोक भैरवस्थान बजार लगायतका ठाउमा बिक्री गर्नुहुन्छ ।उहाले एकमाना काफलको सय रुपैया देखि एक सय पचास रुपैयासम्ममा बिक्री गर्नुभएको छ ।यो वर्ष काफल पाक्ने समयमा अत्यधिक हावाहुरी र असिना पानि परेको हुदा उत्पादनमा कमी आएका कारण पनि महंगो मुल्यमा बिक्री भएको बताउनुभयो।
स्थानीय कृष्ण गन्धर्वले पनि बर्सेनि काफल बिक्री गर्दै आउनुभएको छ । उहाँले काफल बिक्री गरेको आम्दानीबाट वर्षभरिको नुन, तेल र घरखर्च जोहो गर्दै आएको बताउनुभयो । राम्रो आम्दानी हुनु र उपभोक्ताको बढ्दो रुचिका कारण काफलको व्यापार गरिब किसानका लागि गुजाराको माध्यम बनेको उहाँको भनाइ छ ।
किसानहरूका अनुसार प्रत्येक वर्ष चैतदेखि जेठ महिनाको पहिलो हप्तासम्म काफलको सिजन हो । सिजनको सुरुमा काफल बजारमा ल्याउँदा बढी आम्दानी हुने गर्दछ ।













