संगीता आचार्य पाल्पा,चैत्र ३ शनिबार
पाल्पा — तानसेन नगरपालिका वडा नं ९ तिन्टीआँपमा शनिबार दोस्रो कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौ भन्ने मूल नाराको साथ शनिबार दोस्रो कृषि मेला तथा प्रदर्शनी भएको थियो । सुख्खा मौसम भएता पनि दमकडाका किसानले मौसमि तथा बेमौसमि बाली,तरकारीहरु उत्कृष्ट कृषि प्रदर्शनी गरेका थिए । तानसेन नगरपालिका वडा नं.९ तिन्टीआँपको मदनपोखरा संगम बहुउद्देयीय सहकारी संस्थाले वडा कार्यालयको सहयोगमा राखेको दोस्रो कृषि मेला प्रदर्शनीले किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको सहभागी किसानले बताएका हुन् ।
सहभागी किसानले उत्पादनमा आधारित, ढुवानी अनुदान, बजारीकरणमा सहजीकरण गर्न माग गरेका थिए । प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषियन्त्र उपकरण प्रदर्शनी, बीउबिजन प्रदर्शनी तथा बिक्रीवितरण गरिएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताउनु भयो । प्रदर्शनीमा नर्सरी बिरुवा बिक्री वितरण, पशु रोग निदान तथा गोबर परीक्षण, कृषि कार्यक्रम, कृषि परिकारहरुको स्टल, प्लान्ट क्लिनिक, जैविक मल प्रदर्शन र माटो परीक्षण समेत गरिएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनु भयो ।मेलामा लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुतिमा रमाइलो गरेका थिए । मेलामा उत्कृष्ट किसानहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।














