पाल्पा । घरेलु तथा साना उद्योग कार्यालयले सीप सिकौ, स्वरोजगार बनौ भन्ने मूल नाराका साथ सैलुन व्यवसाय सञ्चालन गर्नको लागि १५ दिने कपाल काट्ने तालिम तानसेनमा सुरु भएको हो । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा सञ्चालन भएको तालिममा जिल्लाका दश स्थानीय तहका जम्मा २२ जना महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उद्घाटन गर्दै तानसेन ३ नं. वडाका वडाध्यक्ष बाबुरत्न शाक्यले सिकेको सीपलाई व्यवहारमा उतार्ने गरी आय आर्जन गरेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । सीमपूलक तालिमले स्वरोजगार बन्न सहयोग पुग्ने भएकोले लगनशील भएर तालिम दिन सहभागीलाई आग्रह समेत शाक्यले गर्नुभयो ।
आफूले सिकेको सीप सानो या ठूलो नहुने र परिवर्तनशील समय अनुसारको फेसन डिजाईन सीप सिके पछि बेरोजगार बस्न नपर्ने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । भट्टराईलेआयआर्जनका लागि महिला पुरुष दुबै बराबरीको बाटोमा हिड्न सकिने भएकोले सीप सिक्नुपर्नेमा जोड दिनुभयो ।
विशेषगरी पुरुषहरुको कपाल कटाई सीपलाई लक्षित गरेर आयोजना गरिएको तालिममा महिलाहरू पनि सहभागी भएकोमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्यामकुमार पौडेलले खुसी व्यक्त गर्नुभयो । पौडेलले आफ्नो सीपलाई प्रदर्शन गरी लोकप्रिय बन्दै आफ्नै देशमा बसेर आर्थिक समृद्धि हासिल गर्न सकिने र तालिमका लागि राज्य गरेको लगानी पनि खेर नजाने बताउनुभयो ।
तालिम संयोजक मनोज घिमिरेले नागरिकको आवश्यकता, क्षमता र माग अनुसार कार्यालयले हाउसवायरिङ, प्लम्बिङलगायतका विभिन्न क्षेत्रका सीपमुलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।












