पाल्पा – रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगको प्रदूषणले स्थानीय मर्कामा परेका छन् ।पहाड नै कुरुप बनाउँदै दैनिक हजारौं टन चुनढुङ्गा र क्लिङ्कर खपत गर्ने उद्योगले न स्थानीयलाई रोजगारीमा महत्व दिएको छ न त उद्योगका कारणले पर्ने वातावरणीय प्रभावका बारेमा केहि सम्बोधन नै गरेको छ ।
उद्योगबाट निस्किने धूलोधूवा, तीब्र गतिमा टिपर सञ्चालन, जथाभावी फोहोर जस्ता कुराले वातावरणीय प्रदुषण बढ्दै गएकोले स्थानीय मर्कामा परेका छन् । मापदण्ड भन्दा बढी चुनढुङ्गा र क्लिङ्कर बोकेर दैनिक दर्जनौको संख्यामा सञ्चालन हुने उद्योगका टिपरहरुले सडक तहस नहस बनाएको मात्र छैन उद्योग नजिकै रहेका घरहरु समेत बस्न लायक अवस्थामा छैनन् ।
धूलोधूवा नियन्त्रण गरिदिनका लागि पटक पटक उद्योगसँग आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीय केशव पोखरेलले बताउनुभयो । सिमेन्ट उत्पादन प्लान्टबाट निस्केको धुलो स्थानीयको घरभित्र पस्ने गरेको छ । धुलोका कारण स्वास्थ्यमा असर परिरहेको र बस्तीमा बस्नै नसक्ने स्थिति उत्पन्न भएको उहाँको गुनासो छ । मेहनत गरेर लगाइएको तरकारीमा समेत सिमेन्टको धुलो पत्रैपत्र भएर बस्छ जसले गर्दा खाना लायक नै नभएको पोखरेलले बताउनुभयो । सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण सञ्चै भएको मान्छे विरामी भएर अस्पताल हिड्नु परेको छ । यहाँ घाँस र विरुवाको पातमा सिमेन्टको धुलो टाँसिएपछि गाई बस्तुले समेत घाँस खान छाडेका छन् । स्थानीयले उद्योग सञ्चालक र प्रशासनलाई पटक पटक प्रदूषणबारे ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ दुवै पक्षले गरेका छैनन् ।
कम्पनीका महाप्रबन्धक पदमबहादुर सिंहले भने आफुहरुले वातावरण प्रदुषण नहोस् भन्नको लागि सबै किसिमका उपायहरु अवलम्वन गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो ‘शून्य धूलो धुवाँ होस् भन्ने चाहना स्थानीयको छ, तर उद्योग सञ्चालन भइसकेपछि र गाडी गुड्न थालेपछि त्यस्तो सम्भव हुँदैन तर पनि हामीहरुले वातावरण प्रदुषण नहोस् भन्नका लागि सबै किसिमका काम गरेका छौं, हाम्रोतर्फबाट कुनै कसुर बाँकी छैन ।













