पाल्पा- श्रमजीवि पत्रकारहरुको सबैभन्दा अग्रणी संगठन प्रेस चौतार नेपाल पाल्पाले ६ बुदे `ढोलिमारा घोषणापत्र–२०८०’ जारी गरेको छ । मंसिर २९ र ३० गते पाल्पाको पुर्वखोला गाउपालिका-२ जल्पा मा रहेको ढोलिमारा सामुदायिक होमस्टेमा सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त घोषणापत्र जारी गरेको हो ।संगठनका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र नेकपा (एमाले) का नेता तथा पाल्पा क्षेत्र नम्बर १ का संसद नारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले निम्न ६ बूँदे ‘ढोलीमारा घोषणापत्र २०८०´ जारी गरेको छ ।
१) यो बैठक पाल्पाका श्रमजीवी पत्रकार र श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ ।
२) नेपाल पत्रकार महासंघले ‘सार्वजनिक’ गरेको सदस्यता सूचीप्रति गम्भिर ध्यानाकर्षण भएको छ । महासंघले अभ्यास गर्दै आएको मूल्य—मान्यता, स्थापित गरेको प्रणाली र लागू गर्दै आएको विधान, नियमावली र केन्द्रीय महासंघले बनाएको १५ बुँदे शुद्धीकरण मापदण्डका आधारमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न यो बैठक माग गर्दछ ।
३) नेकपा एमालेको जनवर्गीय संगठनहरू मध्ये प्रेस चौतारी नेपाल एक महत्त्वपूर्ण संगठन हो । पार्टी र चौतारीबीच समन्वय गरेर अगाडि बढ्नुपर्छ । पार्टीको हरेक सकारात्मक अभियानलाई सफल पार्नका लागि प्रेस चौतारी र चौतारीमा आवद्ध पत्रकारले समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता जनाउँछ ।
४) पाल्पाको पूर्वखोला गाउँपालिका प्राकृतिक हिसाबले अत्यन्तै मनमोहक छ । पर्यटकीय क्षेत्रको संभावना बोकेको जिल्लाकै विकटमा रहेको यस ढोलीमारामा पर्यटकको आकार्षण बढ्न थालेको छ । यहाँको होम स्टे (घरबास), स्थानीय सांस्कृतिक झलक, घाटु नाच, पन्चे बाजा, झ्याउरे, यहाँका स्थानीय खानाका परिकार, किवी खेती, अमृसो खेती र चुली डाँडाले पर्यटकको झनै मन जितेको छ । यो सकारात्मक पक्ष हो । यहाँका स्थानीयलाई आत्मानिर्भर बनाउन पर्यटन क्षेत्रले नै महत्त्वपूर्ण भूमिका खेल्ने ठहर छ । त्यसैले यहाँको पर्यटनलाई थप विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारले प्रयाप्त बजेटको व्यवस्था गर्न ध्यानाकर्षण गराउँछ । यहाँका सबै क्षेत्रको विकासका लागि प्रेस चौतारी र यसमा आवद्ध पत्रकारले समाचार सम्प्रेषण गरेर प्रचारप्रसार गर्नेछ ।
५) ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय’ योजना सहित यहि १४ मंसिर २०८० गतेवाट बैतडीको झुलाघाबाट नेकपा (एमाले) ले सुरू गरेको तीन हप्ते ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरूको समृद्धिको लागि उपलब्धिमूलक हुने यो यात्रा राष्ट्रिय अभियान हो । यो ऐतिहासिक अभियानका लागि सिंगो पार्टी एमाले र नेतृत्वलाई धन्यवाद दिन्छ । यात्राको सन्देश र प्रभावको बारेमा रिपोर्टिङ्गको लागि यो बैठक हार्दिक अपिल गर्दछ ।
६) प्रेस चौतारी नेपाल पाल्पाको बैठक सम्पन्न गर्नका लागि सहयोग गर्ने पूर्वखोला गाउँपालिका, वडा नम्बर २ र पार्टी वडा कमिटी, ढोलीमारा सामुदायिक होमस्टेका सम्पूर्ण सदस्य परिवार र प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।











