पाल्पा – जिल्लाको तानसेन नगरपालिका–६, कुनसरेमा एक जना महिला मृत अवस्थामा भेटिएको छ । तानसेन नगरपालिका–६, कुनसरेमा एक्लै बस्दै आउनुभएकी ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला पर्नुभएको हो । घरदेखि १५० मीटर तल दक्षिणतिरको भीरमा घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शुक्रबार बिहान ७ बजेतिर आफ्नो छोरा गणेश घर्तीले चिया दिन जाने क्रममा आमा सरस्वतीको शव देखेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । एक्लै बस्दै आउनुभएका घर्तीको घरको ढोका र सुत्ने बिस्तरामा समेत रगत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।घर्तीको राति नै हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अहिले नै हत्या भन्न नसकिने प्रनाउ त्वातीले बताउनुभयो । त्वातीले थप अनुसन्धान कार्य भईरहेको जानकारी दिनुभयो ।













