आज बिहीबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जानेछ ।
हिजो र अस्तिको जस्तो लगातार झरी नहुने, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने र भोलिदेखि भारी वर्षा नहुने उनले भने । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।













