पाल्पा – लुम्बिनी प्रदेशमा अपराधिक गतिविधि प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । प्रदेशका १२ जिल्लामा ३ वर्षको अवधीमा १९ हजार १९४ मुद्धा दर्ता भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ज्यानसम्बन्धी, आत्महत्यासम्बन्धी, संगठित अपराध, सार्वजनिक अपराध, महिला तथा बालबालिका सम्बन्धी र सवारी लगायत गरी ५ हजार ८३५ मुद्धा दर्ता भएका छन् ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ३६२ र २०७९/८० मा ६ हजार ९९७ मुद्धा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रत्येक वर्ष अपराधसँग सम्बन्धी मुद्धाको संख्या बढ्दै जानुमा सहरीकरण र प्रहरीको सक्रियाका कारणले पनि मुद्धाको संख्या बढेको बताउनुभयो । उहाँले अपराधहरु कम गर्नका लागि प्रहरीले सबै जिल्लामा विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको बताउनुभयो ।
कुन जिल्लामा कति ?
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा धेरै मुद्धा रुपन्देहीमा र सबै भन्दा कम रुकुममा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा रुपन्देहीमा मात्रै ३ हजार ८४६ मुद्धा दर्ता भएका छन् भने रुकुम पूर्वमा यही अवधिमा १९४ मुद्धा दर्ता भएका छन् ।
यस्तै नवलपरासीमा १ हजार २७९, कपिलबस्तुमा २ हजार १८३, गुल्मीमा ७१७, अर्घाखाँचीमा ५०२ र पाल्पामा ७९३ मुद्धा दर्ता भएका छन् । दाङमा ३ हजार ४७१, प्युठानमा ६३३, रोल्पामा ५६७, बाँकेमा ३ हजार ४४९ र बर्दियामा १ हजार ५६० मुद्धा दर्ता भएका छन् ।












