

पाल्पा - निस्दी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरेको छ ।गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ देखि थप भत्ताको व्यवस्था गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या क्रमश: घटदै गएको र विद्यालय सुधारका लागि सबैभन्दा ठुलो भुमिका प्रधानाध्यापकको हुने भएकोले विद्यालय प्रशासन सञ्चालनमा थप जिम्मेवारी बोध गराउनको लागि पालिकाले माध्यमिक तहका प्रधानाध्यापकहरुलाई नेपाल सरकार ले दिने मासिक ५ सय लाई बढाएर १ हजार ५ सय आधारभूत तहमा साविकको निमावि तहकाले पाउने ३ सय बाट बढाएर १ हजार १ सय र प्राथमिक तहका ले पाउने २ सय लाई बढाएर ७ सयका दरले भत्ता पाउने भएका छन ।विकासको पहिलो पूर्वाधार शिक्षा भएकोले यसवर्ष पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको अध्यक्ष सारुले बताउनुभएको छ । त्यसो त निस्दीले चालू आर्थिक वर्षदेखि कक्षा आठसम्मका विद्यार्थीलाई दैनिक २० रुपैयाँको दरले दिवा खाजाको समेत व्यवस्था गरेको छ ।
यसैबीच निस्दी गाउपालिका भित्र रहेका ५२ विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुले प्रमुख प्रशासकीय अधिकृतसँग ५४ बुँदे कार्य सम्पादन करार सम्झौता गरेको छ । यस्तो खालको सम्झौताले समग्र विद्यालयलाई हिट हुने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभएको छ ।