साउन,३० पाल्पा
निस्दी गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन्। प्रगति प्रतिवेदन प्रस्तुत गर्दे प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले गत आर्थिक वर्ष ०७९/०८० मा वित्तीय प्रगति विवरण अन्तर्गत चालू तर्फ ८३.९ % र पुजिगत तर्फ ६४.९४ % खर्च भएको वताए ।
गतवर्ष निस्दीमा आर्थिक विकास तर्फ ७८.९८ %, सामाजिक विकास तर्फ ८६.५५%, पूर्वाधार विकास तर्फ ५४.७४ %, सुशासन तर्फ ७९.३१ % र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ७०. ०९ % गरि कुल ७५.५७ प्रतिशत खर्च प्रगति भएको जनाए । साथै चालू आर्थिक वर्ष २०८०/०८१ मा चालू तर्फ ४५ करोड २ लाख ५५ हजार र पुजीगत तर्फ २४ करोड २ लाख २७ हजार गरि कुल ६९ करोड ४ लाख ८२ हजार बराबरको बजेट विनियोजन भएको दयालले जानकारी दिए ।
गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, भौतिक पुर्वाधार, बिजुली, पर्यटन, कृषि, विपत व्यवस्थापन जस्ता विषयमा जिज्ञासा तथा सुझाव दिएका थिए । साथै सार्वजनिक सवारी साधनको भाडादर समायोजन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, युवा स्वरोजगार जस्ता विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रममा नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछाने र नेपाली कांग्रेस निस्दी गाउँ कार्यसमितिका सभापति पुर्ण बहादुर खाँणले निस्दीको विकासमा राजनैतिक दल बाधक नबन्ने र सदैव सहयोग रहने बताएका थिए ।
सहभागीले उठाएका जिज्ञासाको जवाफ विषयगत शाखाका संयोजक, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले दिएका थिए । गाउँपालिका
अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझाव दिनु हुने सबैलाई धन्यवाद दिनु हुँदै पालिकाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गरिने बताएका थिए । अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गरिने बताउनुहुँदै सरोकारवाला सबैलाई सुझावका लागि अनुरोध गरेका हुन् ।
गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार माधव अर्याल र नारायण न्यौपानेले गरेका थिए ।











