

साउन २६,पाल्पा
भारतको हैदराबाद, तेलंगनामा आयोजित सातौ दक्षिण एशियाली ते–क्वान्दो (आईटिएफ) च्याम्पियन सीपमा विजयी पाल्पाका २ खेलाडी पाल्पामा सम्मानित भएका छन् । ते–क्वाण्दो एशोसिएसन अफ भारतको आयोजनामा भएको प्रतियोगितामा तानसेन नगरपालिका–७, काजीपौवाका एन्जल रेग्मीले एक स्वर्णसहित दुई कांस्य पदक जितेका हुन्। उनले तीन वटा इभेन्टमा भाग लिएका थिए । १६ वर्ष मुनिको ४५ केजी तौल समूहमा भाग लिएका उनले स्वर्ण पदक जितेका हुन् । त्यसै गरी सामुहिक प्याटर्न र स्पायरिङमा दुई वटा कास्य समेत रेग्मीले जितेका हुन् । उनकै दाजु रजन रेग्मीले सामुहिक पाटर्नरमा रजत र व्यक्तिगत स्पायरिङमा कांस्य पदक जितेका थिए । खेलमा लुम्बिनी प्रदेशबाट ६ जना र नेपालबाट ६० जना सहभागी रहेका थिए ।
पदक प्राप्त गर्ने खेलाडीहरुलाई तानसेनमा एक कार्यक्रम आयोजना गरी अनुभव आदान प्रदान तथा सम्मान गरिएको हो । पाल्पा आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा पदक जित्ने खेलाडीलाई खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधवप्रसाद अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, पूर्व अध्यक्ष गोविन्द भटराई लगाएतले सम्मान गरेका हुन् । खेलाडीले स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रतियोगिता खेल्दाको अनुभवका साथै आफ्नो भविष्यको लक्ष्यका विषयमा जानकारी गराउँदै आफूहरुलाई घरपरिवार वाहेक अन्य क्षेत्रबाट सहयोग नमिलेको गुनासो गरेका थिए । उनीहरुले आफूहरु देशका लागि खेल्ने भएकाले खेलाडीलाई आवश्यक सहयोग गर्ने वातावरण हुनु पर्नेमा जोड दिएका हुन् ।
पाल्पा आई.टि.एफ.का उपाध्यक्ष एवम् ते–क्वान्दोका प्रशिक्षक कृष्ण थापाका अनुसार पाल्पा आईटिएफमा ११ वटा विद्यालयका डोजाङबाट प्रशिक्षण भइरहेको छ । हरेक डोजाङमा कम्तीमा ५० जना प्रशिक्षार्थी रहेको प्रशिक्षक विष्णु नेपालीले बताए । यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजयी अर्का प्रशिक्षक साजन पचभैयाले खेल र खेलाडीहरुलाई हुनुपर्ने सहयोग र समर्थनमा कमी रहेको बताए । कार्यक्रममा तेक्वाण्डो प्रशिक्षकहरुले पछिल्लो समय अधिकाम्स बालबालीकाहरु मोवाइलमा व्यस्त रहने छोराछोरीहरुलाई स्वस्थ र अनुशासति बनाउन पनि खेलमा सहभागी गराउन आवश्यक रहेको बताए । आत्मरक्षा र आत्मविश्वासका लागी पनि तेक्वाण्डो अपरिहार्यरहेको प्रशिक्षकहरुको भनाई थियो ।