पाल्पा, तानसेन रिडि हुँदै गुल्मी जाने सडक शनिबार देखि दैनिक रातको समयमा ६ घण्टा बन्द हुने भएको छ । तानसेन–रिडी सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि सडक डिभिजन कार्यालय पाल्पाले बिहीबार एक सूचना जारी गरी साउन २७ गते देखि रातीमा दैनिक ६ घण्टा सडक बन्द गरी निर्माण कार्य गरिने जनाएको छ ।
यस अघि पनि उक्त सडक खण्डको जोर्ते भीर क्षेत्रको पहाड कटान गर्न र समयमा कार्य सम्पन्न गर्नका लागि सडक बन्द गरिदै आइएको छ तर निर्माण व्यवसायीले भने सुस्त गतिमा काम गरेकाले लामो समयदेखि सडक बन्द गर्ने गरिएको यात्रु र चालकको आरोप छ ।
सडक राती १० बजेदेखि विहान ४ बजे सम्म बन्द रहने छ । तोकिएको समय बाहेक सवारी साधनको आवागमनमा असुविधा नपर्ने गरी निर्माण कार्य अगाडि बढाउन कार्यालयले निर्माण व्यवसायीलाई आग्रह समेत गरेको छ ।तानसेन–रिडी सडक खण्डको लघुवादेखि जोर्तेसम्मको सडक चौंडा गर्ने काम भइरहेको छ । समयमा कार्य सम्पन्न गर्नका लागि सडक पूर्ण रुपमा बन्द गरेर काम गर्न लागिएको सडक डिभिजन प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिनुभयो ।
सडक बन्द रहेको समयमा सवारी साधन जोर्ते, लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडाको सडक सङ्गै कालीगण्डकी कोरिडोर को अर्गली छेर्लुङ्ग हुँदै रानिमहल आएर तानसेन आउने सडक समेत प्रयोग गर्न सक्ने छन् ।