पाल्पा, तानसेन
अस्पतालले आज पत्रकार सम्मेलन गरी लामो समयदेखि गर्दै आएको बिमा उपचार सेवा यहि श्रावण २१ गते देखि स्थगित गर्न लागिएको बताएको हो ।अस्पतालले २०७४ बैशाख देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएकोमा स्वास्थ्य बीमा बोर्डले हालसम्म बीमाबाट उपचार गराएबापत अस्पताललाई दिनु पर्ने १२ करोड ८३ लाख नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरु अस्विकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम भएकाले आफुहरु बीमा उपचारको सेवा स्थगित गर्ने अवस्थामा पुगेको अस्पतालकी निर्देशक डा.रचेल बताउनुभयो । उनले बक्यौता रकमको भुक्तानीको साथै समय अनुसारको औषधी उपचारको मुल्य संमायोजन नभएमा बिमा उपचार सेवा पूर्ण रुपमा स्थगित गरिने बताइन् ।
बिमा बोर्डबाट उपचार बापतको रकम नपाउँदा अस्पतालमा औषधी खरीद गर्न तथा उपचारका उपकरणहरु किन्न समस्या भएको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले गुनासो गरे । यदि उक्त बक्यौता रकम २०८० साउन २१ गतेसम्म भुक्तानी नगरेमा बीमाबाट हुने सबै किसिमका उपचार सेवा स्थगित गर्नु पर्ने अवस्था रहेको अस्पताले जनाएको छ । बोर्डले अस्पतालले दिएका सेवाहरुको दावी गर्न सक्ने समयावधि १५ दिन भएता पनि बिगत २ वर्ष सम्मका दावीहरुको भुक्तानी नगरेकाले अस्पताल सञ्चालनमा समस्या आएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।













