

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबार समातिएको १०० केजी सुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै निर्देशनमा बरामद भएको खुलासा भएको छ । सुन बरामद गरेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले विशेष सूचना आएपछि प्रधानमन्त्रीलाई जानकारी गराईएको र प्रधानमन्त्रीकै निर्देशनमा अप्रेसन चलाइएको बताएका हुन् ।
'यो हाम्रो अति विशेष अप्रेशन हो । सुन पास गराउन सूचना चुहिने आशंकामा पनि यसो गरिएको हो । यो कुरामा प्रधानमन्त्रीज्यू जानकार हुनुहुन्छ । उहाँले जस्तोसुकै परिस्थितिमा अघि बढ्नुस् भन्ने आदेश दिनु भएको छ,' महानिर्देशक ढुंगानाले भनेका छन्, 'विभागका योग्य र दक्ष हाम्रा निर्देशकहरु, कर्मचारीहरु सबै यो सफलताको भागीदार हुनुहुन्छ ।'
यसअघि प्रधानमन्त्री प्रचण्डको नीजि सचिव रहेका ढुंगानालाई गत असार १२ गते विभागमा सरुवा गरिएको थियो । त्यो बेला प्रधानमन्त्रीका नीजि सचिवलाई राजस्व अनुसन्धानको जीम्मा भनेर आलोचना गरिएको थियो । सुन बरामद पछि भने प्रधानमन्त्री प्रचण्डले राजस्व चुहावट र तस्करी नियन्त्रणकै लागि ढुंगानालाई विभाग पठाएको रहस्य बल्ल खुलेको छ ।
विभागले राजस्व चुहावट तथा गैर कर राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्वन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार पाएको छ । पहिला अर्थ मन्त्रालय मातहत रहेको विभाग सरकारको २०७४ फागुन १३ गतेको निर्णयानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत क्रियाशील रहदै आएको छ ।
ढुंगानाले आफूहरुले सुन बरामद गरेपछि परीक्षणका लागि भन्सार विभागको ल्याबमा लैजाँदा मात्रै भन्सार विभाग र अन्य निकायलाई जानकारी दिएको समेत बताएका छन् । बिहीबार विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ । विशेष अप्रेसनमा ढुंगाना आफै विमानस्थल पुगेका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काण्ड, ललितानिवास जग्गा प्रकरण लगायतमा संलग्नलाई पक्राउ गरेर सुशासनको अभियान चलाएको सरकारले तस्करी नियन्त्रण गरेर जनतामा थप आशा जगाएको छ ।