

तिलोत्तमा असार २६ गते २०८०। तिलोत्तमा नगरपालिकाले बिद्यालयको पाठ्यक्रम सिकाई लाई थप प्रभावकारी बनाउन २१ वटा विद्यालयलाई प्रोजेक्टर र ल्यापटप वितरण गरेको छ । नगरभित्रका माध्यमिक तहका २१ वटा विद्यालयलाई मंगलबार प्रतिविद्यालय १/१ वटा प्रोजेक्टर र ल्यापटप वितरण गरिएको हो ।अहिलेको युग विज्ञान र प्रविधिको युग रहेकाले विद्यालय पनि प्रविधिमैत्री बन्नु पर्ने बताउदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सामाग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो।
सो अवसरमा बोल्दै बिद्यालयको स्तरोन्नती गर्दै थप भौतिक तथा मानवीय बिकासका लागि व्यवसायिक शिक्षाका लागि विद्यालयहरुलाई प्राजेक्टर र ल्यापटप वितरण गरेको नगरप्रमुख रामकृष्ण खाँणले बताए । तिलोत्तमा नगरको शिक्षालाई प्रविधिमैत्री बनाउन आफू प्रतिबद्ध रहेको र त्यसका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने हरेक प्रकारका सहयोग गर्ने बताए।‘अहिलेको विज्ञान र प्रविधिको युगमा विद्यालयहरुको सिकाई पनि प्रविधिमैत्री हुनुपर्छ । प्राविधिक शिक्षाको विकासबाट मात्रै नगर र राष्ट्रको विकास सम्भव छ,’ नगरप्रमुख खाँणले भने, ‘त्यसैले विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि ती स्रामगी प्रदान गरिएको हो ।’
सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले व्यवहारिक शिक्षाको लागि नगरपालिका जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो। नगरपालिकाले गरेको हरेक शैक्षिक निर्णयमा सबैको सल्लाह र सुझाव हुने हुँदा सो को पालना गर्न सबै बिद्यालयलाई आग्रह गर्दै उहाँले शैक्षिक सफलताको लागि सामाग्री कोशेढुंगा सावित हुने बताउनुभयो।
सो अवसरमा नगरपालिकाले दिएको सहयोगले सामुदायिक बिद्यालयको उपयोगिता अझ बढ्ने र शैक्षिक सफलता हासिल गर्न सघाउ पुग्ने बताउदै बिद्यालय व्यवस्थापन समितिको अध्यक्षका तर्फबाट उमानाथ कंडेल र प्रधानाध्यापकको तर्फबाट शान्ति नमुना माविका कुल प्रसाद लामिछानेले आफ्नो मन्तव्य राखेका थिए। शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रमको संचालन शारदा भट्टराईले गर्नुभएको थियो।