पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम पाल्पामा बुधवार सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले पछिल्लो ६ महिनामा अभिलेखिकरण गरिएका ४४ ओटा घटनाहरुको बारेमा जानकारी गराउनु भयो । ६ ओटा बालिका बलात्कार, ५ वटा महिला बलात्कार र ३३ ओटा घरेलु हिंसाका घटना इन्सेकले अभिलेख गरेको उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पामा उपप्रमुख कासिका गैरेले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकबाट देशको मानवअधिकारको अवस्था कस्तो छ भन्नेबारे जानकारी लिन धेरै सजिलो हुने गरेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्कोटाले हरेक ६, ६ महिनामा हुने यस प्रकारको कार्यक्रमबाट जिल्लाको समग्र मानव अधिकारको अवस्था बारे छलफल गर्ने वातावरण बनेको बताउनु भयो । उहाँले इन्सेकले आगामी दिनमा नागरिकका शिक्षा, स्वास्थ्य, खाद्य अधिकार लगायतका विषयहरुलाई प्राथमिकता दिई उठान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी प्रमुख एसपी हेरम्ब शर्मा, तानसेन नगरपालिकाका पुर्व मेयर अशोककुमार शाही, नेकपा एमाले तानसेन नगर इन्चार्ज गुँरास आत्रेय, राष्ट्रिय स्वतन्त्र पार्टीका पाल्पा सहसंयोजक सुमन गैरे, राष्ट्रिय जनमोर्चा पाल्पा अध्यक्ष बिशाल दर्लामी, नेपाली कांग्रेस जिल्ला सदस्य गिरिजा गैरेले मानवअधिकार क्षेत्र फराकिलो रहेकोले अझ फराकिलो दायरामा रहेर तथ्यांक संकलन गर्न इन्सेकलाई सुझाव दिनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदी, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा ब्यापार संघका अध्यक्ष बामदेव बस्याल, पत्रकार किरण कौशल, देव पचभैया, मानव अधिकारकर्मी राजेन्द्र बस्याल, ठाकुर लोहागुन, कृष्ण गहतराज, देव पचभैया, भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेल, युनाइटेड मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराई लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रम मानव अधिकार रक्षक सञ्जाल पाल्पाका अध्यक्ष भगवान भण्डारीको अध्यक्षतामा चलेको थियो ।













