बुटवल उपमहानगरपालिकाको आयोजानमा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । यहि असार १३ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म कालिकनगरको महाराजा रिर्सोटमा मेला आयोजना हुने छ ।
मेला संयोजक तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले मेलाको तयारी तिब्र पारिएको जानकारी दिनुभयो ।करिव ५ हजार जना मानिसको सहभागीता हुने मेलामा ३० वटा विभिन्न रोजगारप्रदायक संस्थाहरुको स्टल रहने छन् । नेपाल सरकार तथा स्वीजरल्ण्ड सरकारको दिपक्षिय परियोजना दिगो तथा सम्मानित रोजगारीको लागि सिप–दोस्रो चरणको सहयोगमा एक दिने मेला आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगार सम्बन्धी परासर्म तथा सूचना दिने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी तथा तालिमबारेमा सूचना दिने, रोजगारदाताहरुसंग प्रत्यक्ष सम्पर्क गराई रोजगारीको अवसर सृजना हुने अपेक्षा लिइएको जानाइएको छ ।
३ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको सबै खर्च परियोजनाले नै व्यहोर्ने छ । मेलाबाट आएको रोजगारीको अपेक्षा अनुसारको रोजगार पोर्टल नै बनाएर सोही अनुसारको रोजगारी सृजनामा नगरपालिका लागिरहेको मेला संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो । नेपालमा अहिले पनि टायल, मार्वल, फनिर्चर, प्रेश कुकर लगायतका विभिन्न उद्योगमा भारतीय कामदारहरुको बाक्लो उपस्थिति रहेको भन्दै यी र यस्ता उद्योग प्रतिष्ठानहरुमा नेपाली कामदारहरु नै रोजगारी हुन भन्ने हेतुको साथमा मेला पश्चात तालिम समेत आयोजना गरिने बताउनुभयो ।मेलाको नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुहुनेछ ।