
असार १०, बुटवल मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्र र छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । ‘शान्ती र समृद्धीका लागि खेलकूद’ भन्ने मूल नारासहित रुपन्देहीको बुटवल १० रामनगर स्थित कालिका मानवज्ञानको मैदानमा यही असार १३ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
जननेता स्वर्गीय मदन भण्डीको जन्म जयन्ती तथा स्मृतीमा प्रत्येक वर्ष खेल गतिविधी सञ्चालन गर्दै आएको एकेडेमीले लुम्बिनीबाट सुरु भएको यो सिजनको अभियान समापनको सन्दर्भमा भलिबल प्रतियोगिता आयोजना गरिएको भलिबल विभागका प्रमुख बुद्धि बस्यालले बताए । लुम्बिनीमा गत चैत्र २३ गते शान्तीको कामना गर्दै हाफ म्याराथनको आयोजना गरि अभियान सुरु गरिएको थियो ।
बुटवलमा आयोजित भलिबलमा विजेता समुहले ७० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उप विजेता समूहले ५० हजार, तृतीयले ३० हजार तथा सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम ४ ले १५ हजार नगद राशीसहित कप मेडल प्रमाणपत्र प्राप्त गर्ने प्रमुख बस्यालले बताए । यसैगरी विधागत तर्फ वेष्ट प्लेयरका लागि ३ हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट सेटरका लागि प्रतिव्यक्ति १ हजारका दरले नगद पुरस्कार रहेको उनले बताए ।प्रतियोगितामा लुम्बिनी प्रदेशका करिब २ दर्जन छात्र तथा डेढ दर्जन बढी छात्रा तर्फको समूह सहभागी हुने भएका छन् । प्रत्येक समूहले २ जना राष्ट्रिय खेलाडीलाई समेत सहभागी गराउने पाउने प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख खर्च अनुमान गरिएको छ ।एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निभाउने राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीदेखि खेलप्रेमीहरु आवद्ध भएको अध्यक्ष धुर्व आचार्यले बताए ।
