बुटवल । शहीद स्मृति प्रतिष्ठान नेपाल रुपन्देही सशस्त्र संघर्षका क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट शहीद तथा बेपत्ता भएका परिवारहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आयोजित तीनदिने द्वन्दपिडित परिवारको नेतृत्व विकास कार्यक्रमको अन्तिम दिन शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
प्रतिष्ठानले राज्य र विद्रोही दुवै पक्षका द्वन्द पिडितलाई एकै ठाउँमा जम्मा गरी बिहिबार बुटवलको होटेल मेरिगोल्डमा तालीमसंगै सम्मान गर्यो । सम्मानित हुनेमा कार्यक्रममा बुटवल उपमहानगरपालिकाभित्रका ४० भन्दा बढी शहीद तथा बेपत्ता परिवारका सदस्यहरु रहेका छन्। उनीहरूलाई सम्मान पत्र सहित दोसल्ला समेत ओढाएर सम्मान गरिएको हो ।
प्रतिष्ठानले दुवै पक्षद्धारा शहीद तथा बेपत्ता हुनुभएका मानिसका परिवारका व्यक्तिहरुलाई जम्मा गरेर उदाहरणीय काम गरेको भन्दै प्रशंसा कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रशंसा गरे । कार्यक्रमहरु गर्दा सीप सिक्ने र क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा शहीद परिवार एवं संविधान सभा सदस्य सोनिया यादवले हाम्रा शहीद, बेपत्ता लगायत थुप्रै पक्षहरुको ठूलो त्याग र बलिदानले मात्र देशमा परिवर्तन सम्भव भएको र फेरी हामीहरुलाई अपमान गरी व्यवस्था उल्टाउने गरी भएका विभिन्न क्रियाकलापले आपूmहरुलाई ठूलो चिन्ता लाग्ने गरेको बताइन । उक्त कार्यक्रममा जया पौडेल, शिव प्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
यसै बीच उक्त प्रतिष्ठानले शहीद तथा बेपत्ता परिवार र द्वन्द्व पीडित घाइते परिवारका सदस्यहरुको यही आषाढ ५ गतेदेखि ७ गतेसम्म ३ दिने क्षमता अभिवृद्घि कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी ५५ जना सहभागीहरुलाई विभिन्न शीर्षकमा १२ वटा सत्रहरुमा विषय विज्ञहरुद्धारा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ । तालिममा सहभागीहरुलाई समेत सोही कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ ।
प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज रानाको अध्यक्षता, कार्यसमिति सदस्य सन्त कुमार यादवको स्वागतमा भएको उक्त कार्यक्रमको संचालन दामोदर घिमिरेले गरेका थिए ।













