

जेष्ठ ३०, काठमाडौं
नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने मुल उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ।
आगामी असार २ देखि ५ गतेसम्म काठमाडौंमा हुने सम्मेलन नेपाल कफी व्यवसायी महासंघले आयोजना गर्न लागेको हो।
सम्मेलनमा कफी उत्पादकहरू, उपकरण निर्माताहरू, निर्यातकर्ताहरू र अन्य कफी उद्यम–उद्योगसँग सम्बन्धित व्यवसायीहरूले आ–आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् । साथै यस क्षेत्रमा प्रयोग हुने मेसिनरी सामानहरू, रोस्टिङ प्रविधि र प्याकेजिङग समानहरू आगन्तुकले अवलोकन गर्न सक्नेछन्।
नयाँ बजारमा हुने सम्मेलन तथा प्रर्दशनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा हुन लागेको हो।
‘नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढिरहेको छ। तथापि, यसको उत्पादन तथा निर्यात बढाउन सकिएको छैन। यस क्षेत्रको समग्र मुल्य श्रृंखलालाई बलियो बनाउने उपायहरूको खोजी गर्ने तथा अवसरको पहिचान गर्न यो सम्मेलन तथा प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको हो,’ सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले बताय ।
उनले यस व्यवसायमा युवा तथा महिलाको आकर्षण बढाउन पनि सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे।
आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने, कफी क्षेत्र विकासका लागि आवश्यक नीति तथा कानूनी विषयमा बहस गर्ने तथा उद्यमी व्यवसायीका वस्तु तथा सेवाहरूको प्रर्दशनी गर्ने लक्ष्य सम्मेलनको रहेकाे छ।