

काठमाडौँ।
लोकेन्द्र बञ्जाराको गजल सङ्ग्रह ‘पलक’ २०८० जेठ २७ गते शनिबार लोकार्पण भएको छ । सिटिम्याक्स हलमा भएको उक्त कार्यक्रममा प्रा.डा. कृष्णहरि बराल, गजलकार ललिजन रावल, गजलकारहरू बाबु त्रिपाठी, भरत पौडेल र लोकेन्द्र बञ्जाराले सम्युक्त रूपमा कृतिकाे लोकार्पण गरेका थिए । कार्यक्रमको सहजकर्ताकाे भूमिकामा रहेका गजलकार बाबु त्रिपाठीले वक्ताहरू प्रा.डा. कृष्णहरि बराल र गजलकार ललिजन रावललाई गजल लेखनको विगतदेखि वर्तमान सम्मको अवस्था र पलक भित्रका गजलका शक्ति र सीमाका सम्बन्धमा प्रश्न गरेका थिए ।
प्रा.डा. कृष्णहरि बरालले गजलको सिद्घान्तका बारेमा धारणा राख्दै पलक भित्रका गजलहरू मार्मिक र ध्वन्यात्मक रहेको विचार प्रस्तुत गरे । नेपाली जन जीवनलाई नजिकबाट नियालेर लेखिएका बञ्जाराका गजलमा विषयको विविधता रहनु उनकाे गजलको अद्भुत शक्ति हो भन्ने विचार व्यक्त गरे । समालोचकका आँखाबाट हेर्दा पलक भित्रका गजलहरू स्तरीय रहेका र केही गजल लयगत रूपमा अझै मिलाउन सकिने धारणा बरालको रहेको थियो ।
अर्का वक्ता गजलकार ललिजन रावलले बहुलवादी समाजमा हरेक लेखकले आआफ्ना शैलीमा गजल प्रस्तुत गर्न सक्छन् भन्ने धारणा राखेका थिए । ‘गजलमा बाढी आएको’ भन्ने उक्तिलाई सम्बोधन गर्दै रावलले भने, ‘बाढीले माछा र भ्यागुता दुवै ल्याउन सक्छ, हामी गजल लेख्नेले माछा चिन्न सक्नुपर्छ भन्ने विचार प्रस्तुत गरे । लयको व्यवस्थापन नै गजलको बहर हो भन्दै नेपाली गजल साहित्यमा आएको नयाँ गजल सङ्ग्र ‘पलक’ पठन योग्य कृति रहेको विचार व्यक्त गरे । लेखक लोकेन्द्र बञ्जाराले केही गजल वाचन गरी कार्यक्रमको समापन गरेका थिए । गजलसङ्ग्रह ‘पलक’ लाई पेज टर्नर प्रालिले बजारमा ल्याएको हो ।