पाल्पा, ३० बैशाख
राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हातपारेको हो ।
शनिवार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएको थियो। उपाधि सहित विजेताले १ लाख ५० हजार रुपैयाँ पाएको छ ।
आर्मी क्लबलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषीत भएका थिए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोली सहभागी थिए ।
समापन समारोहमा लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना, फाउन्डेशनकी अध्यक्ष निरोज मास्के, सिने कलाकार धीरेन शाक्य, पाल्पा भलिबल संघका अध्यक्ष राजु गुरुङलगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरेका थिए ।
फाउन्डेशनले खेलकुदमार्फत पाल्पाको रानीमहल क्ष्त्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्ष महिलाको राष्ट्रिय ‘बिच भलिबल’ आयोजना गरेको थियो । आगामी वर्ष सबैको सहयोग प्राप्त भएमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्ने फाउन्डेशनकी अध्यक्ष निरोज मास्केले बताइन् ।













