पाल्पा । ढाका र करुवाका लागी देशभर प्रख्यात बनेको पाल्पा अब खेलकुदका लागी पनि देशभर चिनिने भएको छ । यहि वैशाख २८,२९ र ३० गते पाल्पाको रानीमाहलमा दोस्रो राष्ट्रिय विच भलिबल प्रतियोगिता (पुरुष) आयोजना हुने भएको छ । मंगलवार भेटघाट कार्यक्रम तथा पत्रकार सम्मेलन राखी आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले रानीमहलमा विच भलिबल प्रतियोगिताको समय तालिका घोषणा गरेको हो । कृष्ण आलेद्वारा संचालित उक्त कार्यक्रममा सञ्जय मेमोरियल फाउन्डेसन कि अध्यक्ष निरोज मास्केले सभापतिको आसन ग्रहण गरेकी थिइन् भने अतिथिका रुपमा पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना र खेलकुद पत्रकार महासंघ अध्यक्ष माधव अर्यालले अतिथिका रुपमा आसन ग्रहण गरेका थिए ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सञ्जय मेमोरियल फाउन्डेसनका सचीव हिम विक्रम के.सिले विच भलिबल प्रतियोगिताले पाल्पा र रानीमहल क्षेत्रलाई देशव्यापी परिचय दिन सहयोग पुर्याउने बताएका थिए । फाउन्डेसनले विगतमा पनि यस्तै प्रतियोगिताहरु आयोजना गर्दै आएको र भविष्यमा पनि राष्ट्रिय मात्र नभै अन्तरास्ट्रिय स्तरकै प्रतियोगिता आयोजना गर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमकै क्रममा सञ्चालक कृष्ण आलेले पनि उक्त प्रतियोगिताले पाल्पामा इतिहास रच्ने कुरा बताए थिए । पुरुषहरुको राष्ट्रिय स्तरको विच भलिबल प्रतियोगिता पाल्पामा पहिलो पल्ट आयोजना हुन गइरहेको र यसले पाल्पालाई पर्यटकीय गन्तव्य बनाउन थप एक कदम अगाडि बढाएको उनले बताए ।
कार्यक्रमका अतिथि पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिनाले आफ्नो मन्तव्य राख्दै भने, "पाल्पाका गाउँगाउँमा खेलिने भलिबल अब राष्ट्रिय स्तरमा पुग्दा पाल्पालिका लागि यो गौरवको कुरा हो ।" यस्ता प्रतियोगिताहरुले देशलाई खेलकुदको क्षेत्रमा फड्को मार्न सहयोग गर्ने कुरा उनले बताएको थिए ।
सह-आयोजक पाल्पा जिल्ला भलिबल संघलाई र सम्पुर्ण खेल प्रेमी पाल्पालीहरुलाई धन्यवाद दिँदै कार्यक्रमकि अध्यक्ष निरोज मास्केले कार्यक्रमको समापन गरेकी थिइन् ।
उक्त प्रतियोगितामा कोशी बाहेक ६ प्रदेश, तीन विभागीय टिम (एपीएफ, आर्मी, पुलिस) र एक आयोजक गरि १० टिम सहभागी हुने छन् ।













