जनक राज भट्टराई
पाल्पा,चैत्र -३० प्रेस चौतारी नेपाल पाल्पाले नव बर्ष २०८० को अवसरमा शुभकामना आदान–प्रदान गर्दै चौतारी भित्तेपात्रो विमोचन गरेको छ ।नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरेका हुन् ।
भित्तेपात्रो विमोचन गर्दै प्रमुख अतिथि तथा एमाले अध्यक्ष घिमिरेले प्रेस चौतारी पाल्पा शाखाको चुस्त दुस्त सक्रियता, क्रियासिलता, संगठन प्रतिको लगाबको अन्य संघ संगठनले पनि सिको गर्नुपर्ने बताउनु भयो । अहिले देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएकाले सरकारमा सहभागी दलहरु देश र जनताप्रति जिम्मेवार भई काम गर्नुपर्नेमा अध्यक्ष घिमिरेले जोड दिए । देश निर्माणको लागि एमाले नै आवश्यक हो भनेर जनतालाई सही रुपमा बुझाउन पार्टीले ग्रास रुट अभियान सञ्चालन गरेको उनले बताए ।
पत्रकारहरुले एक आपसमा फूलको गुच्छा साटासाट गर्दै नव बर्षको शुभकामना आदन–प्रदान गरेका उक्त कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले चौतारीको क्रियासिलता आउँदो बर्षमा अझै बढेर जाओस्, समाजलाई ऐना देखाउने गरी काम गरोस् भनि शुभकामना दिए । पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले पछिल्लो सयम चौतारी क्रियाशिलताले संगठनमा बसेर काम गर्ने व्यक्ति, संगठनका सदस्यहरुमा उर्जा थपिएको बताए । कार्यक्रममा चौतारीका अध्यक्ष कृष्ण कार्कीले संस्थामा रहेका सबैको सहयोग, सद्भाव, माया, ममताबाट चौतारीले काम गर्दै आएको बताए । नयाँ बर्षले सबैमा जोस जागर उत्साहमा थप वृद्धि होस् भनि अध्यक्ष कार्कीले शुभकामना व्यक्त गरेको कार्यक्रम सह–सचिव सन्तोष ज्ञवालीको सञ्चालनमा भएको थियो ।











