प्रवेश
चैत्र २५, तानसेन, पाल्पा ।
तानसेन पाल्पा स्थित भगवतीस्थान सभाहलमा आज सभ्य र भब्य रुपमा पाल्पाको भाषा, कला, साहित्य र संस्कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नारी साहित्य तथा संस्कृति प्रतिष्ठान, पाल्पाद्वारा आयोजित उक्त कार्यक्रममा यसै संस्थाद्वारा प्रकाशित "पाल्पाको भाषा, कला, साहित्य तथा संस्कृति" पुस्तकको विमोचन भएको हो ।
नारी साहित्य तथा संस्कृति प्रतिष्ठान, पाल्पाकि अध्यक्ष तथा पाल्पाको भाषा, कला, साहित्य तथा संस्कृति पुस्तककि सम्पादक मन गहिरे ज्युको अध्यक्षतामा बसिएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा प्रदेश सभा सांसद माननीय वीर बहादुर राना ज्युले आसन ग्रहण गर्नुभएको थियो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंक भट्टराई, उपप्राध्यापक पुष्कर आचार्य, साहित्यकार निर्मल श्रेष्ठ तथा अन्य समाजसेवी तथा बुद्धिजीवीहरुको आतिथ्यमा बसिएको सो कार्यक्रमलाई मन्जु कोइरालाले सञ्चालन गर्नुभएको थियो ।
उक्त पुस्तकका समिक्षक पुष्कर आचार्यले पुस्तकको बनावट र राम्रा पक्षहरुको तारिफ गर्दै केही प्राविधिक त्रुटिहरुलाई औल्याउँनु भएको थियो । ठुला कार्यहरुमा ससाना त्रुटिहरु आउन स्वभाविक रहेकाले आउँदा दिनहरूमा यसलाई सुधार गर्दै लैजान उहाँले सुझाव दिनुभयो । दुई सय सत्चालीस पृष्ठ रहेको सो पुस्तक खोज र ज्ञानको दृष्टिकोणले अब्बल रहेको उहाँको भनाइ थियो । आयोजकको प्रसंशा गर्दै उहाँले भन्नुभयो, "तानसेन जस्तो सिमित स्रोत र साधन भएको ठाउँमा यस्तो पुस्तक प्रकाशन गर्नु हिम्मतिलो काम हो ।"
कार्यक्रममा आयोजक संस्थालाई धन्यवाद तथा शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद वीर बहादुर रानाले शुभकामना मन्तव्य दिनुभएको थियो । साहित्य, कला र संस्कृतिको धनी पाल्पालाई संसारमाझ चिनाउन उक्त पुस्तकले ठुलो भुमिका खेल्ने उहाँले बताउनुभयो । साहित्यले समाज र व्यक्ति दुवैको विकास गर्ने भन्दै उहाँले भन्नुभयो, "अरुको चरीत्र कोर्ने समयमा आफ्नो चरीत्र निर्माणमा ध्यान दिनसके असल व्यक्ति बन्न सकिन्छ ।" कार्यक्रममा विभिन्न क्षेत्रबाट आउनुभएका साहित्यका साधकहरुले पनि आयोजकलाई शुभकामना दिनुभएको थियो ।
निमन्त्रणा स्वीकार गरेर कार्यक्रममा पाल्नुभएका सम्पुर्ण अतिथिहरुलाई धन्यवाद दिँदै अध्यक्ष मन गहिरेले लोकार्पण कार्यक्रमको समापन गर्नुभएको थियो ।












