पाल्पा, गत मंगलबार रामपुर नगरपालिकामा स्वागत सम्मान सहित परिचयात्मक अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
नगरपालिकाले जिल्लामा भर्खरै जिम्मेवारी लिनु भएका जिल्ला अदालत पाल्पाका न्यायाधीश कमलराज विष्ट, जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्बर शर्मालाई स्वागत तथा सम्मान गरेको छ ।
उक्त कार्यक्रममा नवनियुक्त पदाधिकारीहरुलाई नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले स्वागत तथा सम्मान गर्नुभएको थियो । रामपुर नगरपालिकालाई अन्य क्षेत्रले फरक दृष्टिकोणले हेर्ने र व्याख्या गर्ने गरे तापनि अतिथिहरुले सकारात्मक दृष्टिकोणले हेरिदिनुहुन उहाँले आग्रह गर्नुभयो । रामपुर प्राकृतिक स्रोत र साधनले धनी भएको र विकासको नयाँ फड्को मारेको देख्दा आफ्नो क्षेत्र ओझेलमा पर्छ भन्ने डरले अन्य क्षेत्रले यसको नकारात्मक प्रचार फैलाएको थापाले टिप्पणी गर्नुभयो । विगतका दिनहरूमा जनसंख्याको घनत्वो बढेकाले सुरक्षाको चुनौतीहरु पनि थपिँदै गएकाले सुरक्षा व्यवस्थाका लागि जनशक्ति सहितको डिएसपीको दरबन्दी आवश्यकता रहेको नगर प्रमुख थापाले उल्लेख गर्नुभयो ।
त्यसैगरी रामपुर नगरपालिकाकि उपप्रमुख बाल कुमारी थापाले पनि अतिथिहरुको स्वागत र सम्मान गर्दै न्यायमुलक नगरको परियोजनामा नगरपालिका लागि परेको बताउनुभयो । नगरमा शान्ति, सुरक्षा र सुशासन कायम राख्न सबै तहको समन्वय हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला अदालत पाल्पाका न्यायाधीश कमलराज विष्टले अदालत र स्थानीय तह बीच अनोन्यास्रीत सम्बन्ध रहेको बताउनुभयो । ससाना मुद्दाहरु अदालतमा पुग्नुभन्दा स्थानीय तहमै मेलमिलाप हुनुपर्ने विष्टले बताउनुभयो । साथै प्रमाणको आधारमा बास्तबिकता बुझेर मात्र पीडितलाई न्याय दिन उहाँले आग्रह गर्नुभयो । यसैगरी प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले रामपुरको बास्तबिकता नबुझी नकारात्मक टिप्पणी नगर्ने भन्दै प्रशासन, जनप्रतिनिधि र नागरिकलाई आफ्नो कर्तव्य र अधिकार नभुल्न आग्रह गर्नुभयो । साथै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्बर शर्माले सुरक्षाका लागि नेपाल प्रहरीको विकल्प नभए बनाउनुभयो । कसैको आग्रह पुर्वाग्रहमा नलागी सुरक्षाका लागि नेपाल प्रहरी सधैं तत्पर रहने उहाँले बताउनुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गर्नु भएको थियो ।













