बुटवल,चैत २१ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दुराष्ट्र कायम गराउन सबै नागरिक एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।
उहाँले सके सदनबाट नसके सडकबाट भएपनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने उद्घोष गर्नुभयो । विश्व हिन्दु महासंघ नेपालको महासभा तथा आठौं महाधिवेशनलाई रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै उहाँँले जनताले विश्वास गरे दुई तिहाई बहुमत ल्याएर हिन्दुराष्ट्र कायम गर्ने र जनताले हतार गरे काठमाडौं घेरेर भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने दृढता ब्यक्त गर्नुभयो ।
राजनीतिबाटै नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै उहाँँले राजनीतिकबाटै नेपाललाई फेरि हिन्दुराष्ट्र कायम गर्न सकिने विश्वास दिलाउनुभयो । पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका लिङदेनले विश्व हिन्दु महासंघले नेपाललाई हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्दैमा नहुने बताउँदै राप्रपालाई साथ दिएर अघि बढ्नको लागि आग्रह गर्नुभयो । ‘धर्मनिरपेक्षता राज्य बनाउने प्रस्ताबक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम हुन्छ त ? हुदैन भने सबै पार्टी भन्दा माथि उठेर एकपटक नेपाललाइ हिन्दुराष्ट्र बनाउन सबै एकठाउँमा आउनुस् । ’ उहाँको भनाइ छ । अगाडि भन्नुभयो–‘नेपाललाइ हिन्दु राष्ट्र बनाएपछि बरु हामी कांग्रेस एमाले माओबादी जे जे बन्ने हो बनौँला अहिलेलाइ सबै एक ठाँउमा आउँ र देशका लागि लडौँ । ’
धर्मनिरपेक्षता राज्य बनाउने प्रस्ताबक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम नहुने भन्दै हिन्दुराष्ट्रको ओकालत गर्ने एक मात्र पार्टी राप्रपालाई साथ दिन उहाँले आग्रह समेत गर्नुभयो । दुई दिनसम्म चल्ने महाधिवेशनमा देवघाट धामका संरक्षक एवं सन्त समाजका अध्यक्ष अनन्त श्री बिभुषित ज्ञानानन्द सरस्वतीले हिन्दु राष्ट्र बनाउन सबै जुट्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सनातन हिन्दुधर्मको रक्षा र राष्ट्रको रक्षा नै धर्म भएको उल्लेख गर्नुभयो ।
विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा रामचन्द्र अधिकारीले नेपाललाई हिन्दुराज्य कायम गर्नु नै महासंघको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
राष्ट्रको रक्षाको लागि नेपाललाई हिन्दुराज्य कायम , बेद शिक्षालाई पाठ्यक्रममा समावेश , आयुर्वेद शिक्षामा जोड र भ्रष्ट्राचार रोक्नको लागि महासंघ लागि परेको उहाको भनाइ छ ।केन्द्रीय वरिष्ठ उपाध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले विश्व ओमकार एकता महाअभियानमा संगठित हुँदै जागरण अभियान सञ्चालन गर्नको लागि महासभाको आवश्यकता रहेको बताउनुभयो ।
सो अबसरमा विबेकानन्द सरस्वती,पुर्वमन्त्री धुर्बबहादुर प्रधान, पुर्वमन्त्री दिपकुमार उपाध्याय,पुर्व सांसद शंकरप्रसाद पाण्डे ,नयाँगाउँ मुक्तिनाथधामका संरक्षक स्वामी लोकानन्द,दिनबन्धु पोखरेल, लुम्बिनी प्रदेश उपसभामुख मेनका खांण, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण,सन्त किशोरकुमार गौतम, डा दिपकप्रसाद बास्कोटा, विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ ,अरुणकुमार श्रेष्ठ लगायतले बोल्दै नेपाललाइ हिन्दुराष्ट्र बनाउनु नै अबको उद्धेश्य रहेको उल्लेख गर्नुभयो ।
महासंघले प्रजातान्त्रिक बिधानबाट संचालित भएकाले गुरु ,पुरोहित , ज्योतिष, मठ, मन्दिर, गुम्बा, आश्रम, संघ , संगठन , धामि झाँक्री, साधु, सन्तलाई संगठित भएर धार्मिक शक्तिकेन्द्र बन्नको लागि अनुरोध गरेको छ । ७७ जिल्लाका १ हजार ५ सय भन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहेको महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्ने छ भने घोषणापत्र समेत जारी गर्नेछ ।













