

काठमाडौँ चैत २, आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइटका कारण डीएल डकवर्थ लेविस नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।
बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । यो सँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । बिहीवारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकपको छनोट खेल्न पाएको छ । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको मद्दतले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।
यसअघि लिग २ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गर्दै ८ विकेट गुुमाउँदै जित हाशिल गरेको थियो ।
त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल र योगदान दिएका थिए । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका थिए ।
नेपालका लागी दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए । यो सँगै नेपालले खेलेका १२ खेलमध्ये ११ मा जित हात पारेको छ ।