फागुन १७,पाल्पा । देश नयाँ राजनीतिक क्रान्ति तर्फ जाँदै छ र यो क्रममा देशले नयाँ प्रणाली र अनुहारहरु पनि देख्दैछ । गत स्थानीय तहको निर्वाचनमा देशले बालेन शाह र हर्क साम्पाङ जस्ता आशलाग्दा अनुहार पायो । यसको लगत्तै भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको रुपमा देशले आशलाग्दा र यूवा अनुहार देख्न पायो । देशको हरेक क्षेत्रमा स्वतन्त्र विचार धारणाको लहर आउँदै गर्दा स्ववियु पनि यसबाट टाढा रहेन । देशका विभिन्न क्याम्पसबाट स्वतन्त्र व्यक्ति र संगठनहरुको चर्चा सुरु भैसकेको छ ।
यसको एउटा उदाहरण त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा पनि देख्न पाइएको छ । यस क्याम्पसका बि.बि.एस् प्रथम तहका विद्यार्थीहरुले आफ्नै पहलमा संलग्न विद्यार्थी युनियनू को स्थापना गरि दर्ता प्रक्रिया सकेका छन् । असंलग्न अर्थात संलग्न नरहेको, नाम जस्तै सिद्धान्त यस संगठनले पनि बोकेको छ । कुनै पनि राजनीतिक पार्टी वा विचारसँग संलग्न नरहेको यस संगठनको मुख्य एजेन्डा पनि क्याम्पस लगायत सम्पूर्ण शिक्षा क्षेत्रमा राजनीतिक पार्टीको संलग्नता रहन हुँदैन भन्ने रहेको छ ।
क्याम्पसका विद्यार्थी आफैमा सक्षम रहेका र उनीहरु कुनै राजनीतिक पार्टीबाट परिचालित नभै स्वविवेले क्याम्पस र विद्यार्थी आफैका समस्या समाधान गर्न सक्छन् भन्ने यस संगठनको धारणा रहेको छ । विगत लामो समय देखि पार्टीका भात्री संगठनहरु क्याम्पसमा सक्रिय छन् तर उनीहरुको ध्यान विद्यार्थी र क्याम्पसका समस्या भन्दा पनि राजनीतिक भागबन्डा र विद्यार्थीको प्रयोग गरि पार्टीको प्रचार गर्नेमा मात्र सिमित रहेको छ । विद्यार्थीको प्रयोग गरि पार्टीका टाउके नेता माथि चढ्ने तर विद्यार्थीका मुद्दा सधैं तलै रहेको उनीहरूको गुनासो रहेको छ । अझै पनि राजनीतिको यहि फोहोरी खेलमै अल्झिए शिक्षा क्षेत्रको स्तरोन्नति कहिल्यै हुन नसक्ने भन्दै यहि फोहोरी खेलको अन्त्य गर्न र भात्री संगठनबाट जकडिएको क्याम्पस प्रशासनलाई स्वतन्त्र रुपमा कार्यसम्पादन गर्न टेपा पुर्याउन उनीहरुले यो अभियान सुरु गरेको प्रवेश अर्यालले बताएका छन् ।
यो बाहेक मासिक रुपमा क्याम्पस सरसफाइ, क्याम्पसमा चेतनामुलक र सिपमुलक तालीमको प्रबन्धन, विद्यार्थीहरुको नेतृत्व र मौलिक क्षमता विकासमा सहयोग पुग्ने कार्यक्रमहरु विद्यार्थीले नै संचालन गर्ने योजना उनीहरुको रहेको छ । जसरी देशका विभिन्न क्षेत्रमा स्वतन्त्र विचारको टुसा पलाउँदै छ, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाबाट पनि शिक्षा क्षेत्रमा स्वतन्त्र विचारले टुसा हालेको देख्न सकिन्छ । उनीहरुले आगामी चैत्र पाँच गते हुन गइरहेको स्ववियु निर्वाचन जिति देशभरी नै विद्यार्थीले पार्टीको छाता बिना पनि धेरै गर्न सक्छन् भन्ने संदेश पुर्याउन चाहेका छन् ।













