पाल्पा,१६ फागुन पाल्पा – पाल्पा उद्योग वाणिज्य संघले आगामि बैशाखमा पाल्पा महोत्सव गर्ने भएको छ । जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृति क्षेत्रको विकासमा सहयोग पुग्ने उद्धेश्यकासाथ संचलन गर्न थालिएको हो । आगामि बैशाख १४ गते देखि २४ गते सम्म महोत्सव संचालन हुने संघले जनाएको छ । उद्योग वाणिज्य संघले २०५८ साल देखि विभिन्न सयममा जिल्लामा मेला महोत्सव गर्दै आइरहेको छ । संघले हिजोको दिनमा एक महोत्सव एक चिनारी गर्दै टुडिखेलमा राखिएको करुवा, गरुण चौपारी र सितलपाटी मर्मत संभारमा भूमिका खेलेको र आगामी दिनमा पनि मेलाबाट आम्दानी भएको रकमबाट यस्ता किसिमका संरचनाहरु बनाउने गरेको छ ।
संघले यस अघि मेला महोत्सव गरेर तानसेनको खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गरेको थियो । संघले सामाजिक उत्तरदायित्व बहन गर्दै मेला महोत्सवबाट उठेको रकमहरु संस्थागत विकास संघको बाँकी रहेको बहुउद्देश्यीय भवन निर्माण सम्पन्न, संघको व्यवसायिक हक हित कोष, व्यवसायिक सुरक्षा, संस्कृति जर्गेना, पर्यटकीय विकास लगायतका क्षेत्रमा खर्च गर्ने गरी महोत्सवको आयोजना गरिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो । बैशाख १४ गतेदेखि २४ गतेसम्म १३ औं संस्करणको रुपमा संघले महोत्सव आयोजना गर्न थालेको र संघका अध्यक्ष भट्टराईको नेतृत्वमा मूल आयोजक समिति गठन भएको जनाएको छ ।
महोत्सवको लागि स्थान भने छनौट गर्न अझै बाँकी रहेको छ । यस अघि टुँडीखेलमा हुने मेलामा तानसेन नगरपालिकाले रोक लगाएपछि मेलाको लागि स्थान अभाव हुँदै आएको छ । मेलाको लागि बतासेडाँडा, बाँसटारी, प्रभास, टुँडीखेल, गोर्खेकोट, श्रीनगर लगायतको क्षेत्र हेरेर आवश्यक निर्णय लिइने संघले जनाएको छ ।













