फागुन १२, पाल्पा । रम्भा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार सम्पन्न भएको छ । पालिकाले प्रदान गर्दै आएका सेवा सुविधामा आम नागरिकको पहुँच बृद्धि तथा गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीले कार्यक्रममा सेवाग्राहीहरुले दिनुभएका सुझाव र जिज्ञाशाहरुलाई पालिकाले आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।
पालिकाको चालु आर्थिक वर्ष २०७९।८० को पुस मसान्तसम्मको कार्य प्रगति विवरणलाई आधार मानेर पहिलो ६ महिनाको आर्थिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत भक्तुजङ्ग रानाले रम्भा गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गरेका कार्य प्रगति पेश गर्नु भएको थियो । त्यस्तै लेखा अधिकृत पोष्टराज न्यौपानेले ६ महिना अवधिको करिव २ करोड ५० लाख रुपैयाँ खर्च भएको अािर्थक प्रगति विवरण पेश गर्नु भएको थियो । सार्वजनिक सुनुवाईमा सेवाग्राहीहरु तुल्सीराम राना, धातानन्द बस्याल, भिमबहादुर सारु, नारायण भट्टराई, हरि बस्याल धनबहादुर नेपाली, धनबहादुर पौडेल, धनबहादुर नेपाली, रेवत राना, ज्ञानबहादुर वराल, तिलबहादुर आले लगायतले पालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विभिन्न शाखाहरु मार्फत हुँदै आएका सेवाप्रवाहका विषयमा प्रश्न सहित आगामी दिनका लागी सुझाव सल्लाह समेत राखेका थिए ।
सार्वजनिक सुनुवाईमा गाउँपालिकाको भवन निर्माण, वडा कार्यालयमा स्थायी कर्मचारीको अभाव, कृषि क्षेत्रको कार्य प्रभाव, सडकहरुको स्तरोन्नती, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थप सुधारका लागि तालिम, उत्पादित सामग्रीको बजारिकरणको सुनिश्चितताको विषयमा सेवाग्राहीले प्रश्न तथा सुझाव राखेका थिए । सेवाग्राहीहरुका जिज्ञाशाहरुको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ्ग राना, वडा १ का अध्यक्ष ईश्वरी काफ्ले, वडा न ३ का अध्यक्ष थमन बहादुर गाहा, लेखाअधिकृत पोष्टराज न्यौपाने, शिक्षा अधिकृत मिनादेवी आचार्य, स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्याल, प्राविधिक मुक्तबहादुर फाल, रोजगार संयोजक रबिन महर्जन, कृषि प्राविधिक पुजा गुरुङ लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रम सहयात्रा विकास केन्द्र नेपालको सहजीकरणमा भएको थियो ।













