एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै उनलाई सफाइ दिएको हो । बहसमा शाहको पक्षबाट ५ जना कानून व्यवसायीले बहस गरेका थिए भने जाहेरवालाको तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए ।
सोही मुद्दामा गत भदौ २९ गते शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय सुनाउँदै १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । यो फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन समेत दिइसकेका छन् । गत फागुन ११ गते एक नाबालिगका पिताले पलविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए ।
जाहेरी परेपछि पल तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । पछि तनहुँ र नवलपुर जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा नाबालिगले आफूलाई शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेरेकी थिइन् । उनका पिताले पनि ‘पछि बुझ्दै जाँदा त्यस्तो केही नै नभएको रैछ’ भन्दै बयान फेरेका थिए । तनहुँमा करणी हुँदा नाबालिग १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।













