रेसुङ्गा, पुस १० ।
गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका –६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम वि.सं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन् । राष्ट्रिय खेलकुद परिषद् मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौँका इञ्जीनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइले रङ्गशालाको रुप दिएको छ । दोस्रो चरणमा १ करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रङ्गशाला वरपर नाली बनाउने र कार्यलयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जीनियर शाहीले बताए । पहिलो चरणमा गरिएका काम भत्कदै जाने र दोसा्रे चरणको काम समयमै सुरु नहुने कारणले गर्दा स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । रङ्गशाला बन्ने आशा हराउँदै गएकाले आफूहरुको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय ओमबहादुर कुमालले तीन वर्षदेखि रङ्गशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए । राम्रै चौर थियो गाईभैँसी चराउन भएकै थियो, दशैँमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो,’ ६६ वर्षीय ओमबहादुर भन्छन । रङ्गशाला बन्दा खुसी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौँ,’ उनले भने । सोही स्थानका बेदुमाया कुमाल पनि रङ्गशाला नबन्ने पिरलोमा छिन् । रङ्गशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा विस्तारै निराशामा परिणत भएको उनले बताइन् । सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदाहुँदैको चौरलाई रङ्गशालाको नाममा त्यसै छोड्न नहुने बताउन्छन् । राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए र्। सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो,’ उनी भन्छन्, ’बेवारिसे अवस्थामा रङ्गशाला निर्माण सम्पन्न भइसक्दा १ खर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो । १५ हजार दर्शक क्षमताको अंन्तर्र्राष्ट्रिय रङ्गशाला बन्ने गरी चरण –चरणमा काम सुरु भएको हो रङ्गशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका ३ सय २५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए । यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली वि.क.ले राष्ट्रिय खेलकुद परिषद्मार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरुले केही गर्न नमिल्ने बताए । आफ्नो मातहतमा नभए पनि समय– समयमा रङ्गशालाको रेखदेख गर्ने गरेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरीकन रङ्गशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आफू निर्वाचन भएर आएपछि बुझ्दा अब रङ्गशालामा बजेट नआउने भएकाले रङ्गशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए । –रासस













