असोज २८
पाल्पा – राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुने भएको छ ।
त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्ला प्रदेश परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ । त्यसको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ ।
माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन गरिनेछ । प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र पठाउनु पर्ने र पुरक परीक्षा भने २०८० साउनको अन्तिम हप्तामा हुने। कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका पछि प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।
यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा भने २०८० को वैशाख दोस्रो हप्तादेखि गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।













