पाल्पा २५, गते
आगामी मंसीर ४ गते हुने निर्वाचनकोलागी उम्मेदवारी दिएका पाल्पा क्षेत्र नं. १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले तानसेनमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया गरेको छ ।
निर्वाचनमा उम्मेदवारी दिएका प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले अन्तरक्रिया गरी आगामी निर्वाचनका लागि सुझाव र सल्लाह मागेका हुन् ।
कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका सभापति भरत शर्मा तथा सचिव रामचन्द्र रायमाझी, पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपाने, प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपाने, प्रेस युनियनका कोषाध्यक्ष विष्णु खनाल, राससका तानसेन संवाददाता विष्णु घिमिरे,कन्दरा न्यूज डटकमका सम्पादक अमृत काम्मु लगायतले विद्युत, सडक, खानेपानी लगायतका समस्या समाधानमा ध्यान दिन उम्मेदवारहरुलाई आग्रहका साथै नेकपा एमालेको पकड क्षेत्रमा नया अनुहारका साथ के कसरी जनताको मन र साथ जित्न सक्नु हुन्छ भनी प्रश्न समेत राखेका थिए ।
अन्तरक्रियामा बोल्दै गठबन्धन बाट पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनु भएका ज्ञानबहादुर गाहाले विकास र समृद्धिको क्षेत्रमा पछाडी परेको पाल्पा क्षेत्र नं १ को समग्र विकासका लागि आफु चुनावी मैदानमा उत्रिएको बताउनुभयो । २०४८ पछिको चुनावमा पटक –पटक नेकपा एमालेका उम्मेदवारलाई विजय बनाएर पठाए पनि यस क्षेत्रको विकास नभएको भन्दै आफुहरु संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन एक भएर यस क्षेत्रको विकास र समृद्धिका लागि अगाडि बढेको जानकारी गराउनुभयो । पत्रकारहरुको सुझावहरुलाई आत्मसाथ गर्दै आफुहरु अगाडि बढ्ने प्रतिबद्धता समेत गाहाले
जनाउनुभयो ।
प्रतिनिधि सभाको समानुपातिक तर्फका उम्मेदवार सन्दीप रानाले पाल्पालाई शैक्षिक, पर्यटकीय, धार्मिक र सांस्कृतिक क्षेत्रको रुपमा विकास गरी अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी काम गर्न उम्मेदवारी दिएको बताउनु भयो । उहाँले रामपुर आफैमा संभावना बोकेको शहर भएकाले विजय प्राप्त गरेमा त्यसको विकास र विस्तारमा दीर्घकालीन योजना बनाएर काम गर्ने जानकारी दिनुभयो ।
त्यस्तै क्षेत्र नं.१ प्रदेशसभा १ (१) का उम्मेदवार श्यामकान्त खनाल, १ (२)का शंकर खनाल, समानुपातिक तर्फका उम्मेदवार तारा रसाइली, जित बहादुर थापा लगायतका उम्मेदवारहरुले क्षेत्र नं .१ का समस्याहरु आफुहरुले राम्रोसँग बुझेकाले त्यसका समाधानका लागि पनि आफुहरु सँगै ठोस योजना रहेको र यस पटकको चुनाव सवै लागी परे अवस्य जितिने बताएका थिए ।
कार्यक्रममा गठबन्धन दलका संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर लगायले दुई–दुईपटक संसद् विघटन भएपछिको असहज परिस्थितिमा ‘संकिर्ण र निषेध’को राजनीति विरुद्ध सहमति र सहकार्यको जगमा गठबन्धन भएको र यसपटक प्रतिपक्ष एमाले भित्र पनि मनमुटाव भएको कारणको साथै हरेक जनताको हातमा हात र साथमा साथ दिदै जाने हो भने यस पटकको चुनाव पक्कै गठबन्धनले नै जित्ने र सम्पूर्णलाई वाम लोकतान्त्रिक गठबन्धनका आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन समेत आग्रह गरे ।
कार्यक्रम गठबन्धनका प्रचार प्रसार समितिका संयोजक तथा नेपाली काँग्रेस उपसभापति झपेन्द्र गैरेको सञ्चालनमा भएको थियो ।













