पाल्पा, असोज २३
जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) को चौरासी पूजा एवम् नागरिक अभिनन्दन समारोह पाल्पाको रामपुरमा भव्यताका साथ सम्पन भएको छ ।
तानसेन नगरपालिका, रामपुर नगरपालिका, माथागढी, पुर्वखोला, रम्भा, निस्दी गाउँपालिका स्थित क्याम्पस, विद्यालय एवम् स्थानीय संघ संस्थाको आयोजनामा चौरासी पूजा भएको हो । जापानमा जन्मेर पनि नेपाली भुमिमा लामो समय देखि शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा ठुलो योगदान गर्नुभएका ओके बाजेको योगदानको कदर गर्दै रामपुर नगरपालिका ८ एक्लेटार स्थित गंगा माविमा चौरासी पुजा तथा अभिनन्दन समारोह गरिएको हो । सहचन्द्र दर्शन एवं चौरासी पूजा मूल आयोजक समितिका अध्यक्ष एवम् गंगा माविका प्रधानाध्यापक देवराज देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
नेपाली परम्परा अनुसार ३० जना पुरोहितबाट पुजा गरिएको मुल पण्डित हरिप्रसाद खनालले जानकारी दिनुभएको छ । भुषालडाँडा माविका प्रधानाध्यापक सुन्दर श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन रामतुलसी माविका शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । चौरासी वर्ष पुगेको उपलक्ष्यमा नेपाली परम्परा अनुसार पुजा गर्ने व्यवस्था मिलाएकोमा ओकेबाजेले सबैलाई धन्यवाद दिनुभएको छ । कार्यक्रमको अवसरमा मगरी संस्कृति कौरानाच समेत देखाइएको थियो । ओकेबाजेको पुजा तथा अभिनन्दनमा विभिन्न संघ संस्था तथा नागरिकको उत्साहजनक सहभागीता रहेको थियोे ।













