पाल्पा, असोज १७
आज नवरात्रको आठौं दिन । नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
आज महाअष्टमीका दिन सबैले आ–आफ्नो परम्पराअनुसार पशुबली दिने प्रचलन छ । पशु बली नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बली दिने गर्छन । आजै हनुमानढोकाको दसैंघरमा रहेको मूल चोमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिने रहेको छ । आजकै दिन घरमा प्रयोग गरिएका हातहतियार, मेसिनको साथै सवारीसाधनहरूको पशु बलीसहित पूजा गर्ने पनि प्रचलन रहेको छ ।
नवरात्रभर शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, पलाञ्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना गर्नका लागि हुने गर्छ ।













