पाल्पा १३ असोज
तानसेन नगरपालिका वडा नं. ७ को आयोजना तथा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको सहयोगमा एक दिने निः शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयले विजया दशमीको शुभकामना आदान प्रदान संगै शिविर सञ्चालन गरेको हो ।
कार्यक्रम आयोजनाको मुख्य उद्देश्य तानसेन नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रदिप खनालले प्रष्ट पार्नु भएको थियो । निशुल्क स्वास्थ्य शिविरले गर्दा निम्न आर्थिक अवस्था भएका मानिसहरुलाई पनि स्वास्थ्यको पहुँचबाट टाढा जान नपर्ने खनालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अथिति तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले विरामीहरुको उपचार गरी निशुल्क औषधि वितरण गर्ने प्रतिवद्धता सहित प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । आगामि वर्ष सबै वडाहरुमा टाउन क्लिनिक सञ्चालन गर्ने, जहाँ विरामीहरुले निशुल्क उपचार गर्न पाउने श्रेष्ठको भनाई छ । यस्ता सेवाले विशेष गरेर महिलाहरुको समस्यालाई सहज हुने पनि श्रेष्ठले बताउनुभयो । वृद्धाहरु र दीर्घ रोगीे लागि आउने दिनमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालनमा ल्याउने पनि जानकारी दिनुभयो । साथै निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नको लागि ३ लाख भन्दा बढि बजेट छुट्याइएको पनि बताउनुभयो ।
कार्यक्रमको विशिष्ट अतिथि तानसेन नगरपालिकाकी उपमेयर प्रतिक्षा सिंजालीले यस्ता कार्यक्रमले जनताको स्वास्थ्यमा ठूलो सहयोग पुग्ने हुदा यस्ता कार्यक्रमहरुलाई अन्य ठाउँमा पनि निरन्तरता दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनि मेडिकल कलेजका कृष्ण पराजुली, अन्य डाक्टरहरु, परिवार नियोजनका कर्मचारीहरु, साथै सल्लाहकार मुक्ति न्यौपानेको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहयोगी संस्थाहरु तथा मेडिकल कलेजका कर्मचारीहरुलाई सम्मान सहीत प्रमाण प्रत्र प्रदान गरिएको थियो ।













