३ असोज, काठमाडौं ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले जानकारी दिए ।
रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानी फरार भएको थियो । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।













