असोज २ पाल्पा, खेमराज पाण्डे ।
पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसान किवी खेतीमा आकर्षित भएका छन् । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरु यस खेतीतर्फ आकर्षित भएका हुन् । किवी खेतीबाट यहाँका किसानको जीवन शैलीमा समेत परिर्वतन आएको छ ।
परम्परागत रुपमा मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानहरु अहिले किवी खेतीमा आकर्षित भएका छन् । किसान पुरानो शैलीको खेतीपाति छोडेर किवी खेतीतर्फ लागेका हुन् । यहाँका किसानले समूहमा आवद्ध भई झण्डै २५ रोपनी क्षेत्रफल जग्गामा किवी खेती गरेका छन् । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको सक्रियतामा किवी खेती सुरु गरिएको हो । यस क्षेत्रलाई किवी पकेट क्षेत्रको रुपमा विकसित गर्न गाउँपालिका र यहाँका किसानहरु लागि परेका छन् । परिक्षणका रुपमा लगाइएको किवीले राम्रो उत्पादन दिएपछि किसानहरु किवी खेतीमा आकर्षित भएका हुन् ।
गाउँकाका ६० जना किसान समूहमा मिलेर झण्डै एक हजार किवी बोट लगाएका छन् । मकै खेती भन्दा किवी धेरै राम्रो उत्पादन भएको भन्दै मकैको भन्दा किवीवाट झण्डै १० गुणा बढी आम्दानी लिन सकिने कृषक मिना देवी कवरले बताउनुभयो ।
गत वर्ष लगाएका किवीले दुई वर्षमै उत्पादन दिएपछि यो खेती तर्फ किसानहरु थप उत्साहित भएका हुन् । किवीबाट किसानले तत्कालै नगद आर्जन गर्न सक्ने भएकाले पनि किवी खेती गर्ने किसान दिनहु बढ्दै गएका छन् ।
किसानलाई व्यवसायिक र आत्म निर्भर बनाउने उद्देश्यले गाउँपालिकाले प्राविधिक तथा आर्थिक सहयोग मल, वीउ विजन लगायतका सहयोग गर्दै आएको वडाअध्यक्ष नीर बहादुर सारु बताउनुभयो ।
बेरोजगारी युवाहरु विदेशीनुवाट रोकी स्वदेशमै स्वरोजगार बनाउनका निम्ती गाउँपालिकाको कृषिशाखाले सामूहिक किवी खेतीको अवधारण ल्याई युवा कृषकहरुलाई संलग्न गराएको पूर्वखोला गाउँपालिका कृषि शाखाका शाखा प्रमुख सन्तोष कंडेलले वताउनु भयो ।
गाउँका कृषकहरुले वषौ देखि पुरानै शैलीमा निर्वाहमुखी खेती गर्दै आएका किसानलाई स्वरोजगार वनाई व्यवसायीमुखी कृषि गर्न र उनीहरुलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले अनुदानमा विउविजन, तालिम, आधुनिक प्राविधिक ज्ञान, औजार तथा सीपको समेत व्यवस्था गर्दे आएको पूर्वखोल गाउँपालिकाका अध्यक्ष नुन वहादुर थापाले वताउनुभयो ।
किवी खेतीकोलागी धेरै मेहेनत पनि नलाग्ने, एक पटक लगाए पछि वर्षो सम्म आम्दानी लिन सकिने र उत्पादित बस्तुको वजारीकरणमा कुनै समस्या नरहेको हुदाँ पनि कृषकहरु यस खेती तर्फ वढि आर्कर्षित बनेका हुन् ।













