पाल्पा –३१ भाद्र
पाल्पाका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भएको समीक्षा कार्यक्रममा पाल्पाका दश वटै स्थानीय तहले पहिलो दिन आफ्नो प्रस्तुती र दोस्रो दिन जिल्लास्थित सरकारी कार्यालयहरूले आफ्नो प्रस्तुती राखेका थिए ।
पहिलो दिन तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी, रम्भा, पूर्वखोला, माथागढी, तिनाउ, रिब्दीकोट, रैनादेवी छहरा र बगनासकाली गाउँपालिकाले गत आव २०७८÷०७९ मा सम्पन्न भएका कार्यक्रमको बारेमा जानकारी दिएका थिए । बुधबार भएको समीक्षा कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरूले गत आर्थिक वर्षमा पालिकाले गरेका गतिबिधिका बारेमा जानकारी दिएका थिए । यद्यपी पालिकाहरूले उपलब्धी भने देखाउन नसकेको सहभागीहरूले प्रश्न गरेका थिए । कार्यक्रम भयो, यो गरियो भन्दा पनि यो उपलब्धी भयो भनेर कुनै पनि पालिकाले समीक्षामा प्रस्तुत गर्न नसकेको सहभागीहरूको भनाइ छ ।
कार्यक्रम कार्यक्रमका लागि मात्र भएको उपलब्धी देखाउन नसकेको, बजेट तथा कार्यक्रम पारदर्शी नभएको, टेन्डर तथा सूचना कमिसनका लागि कर्मचारीले बोक्दै हिडेको भन्दै राजनैतिक दल, पत्रकार, नागरिक समाजले स्थानीय तहलाई प्रश्न गरेका थिए । यस्तै स्थानीय तहमा बेरूजु बढेको, स्थानीय तह गैरसरकारी संस्थाले चलाएको जस्तो भएको, स्थानीय तहको क्षेत्राधिकारभित्र काम नगरी बाहिरी कुरामा मात्र ध्यान दिएको सहभागीले बताएका थिए ।
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत जनप्रतिनिधिहरूले उपलब्धी जिसस पाल्पाले दिएको फर्मेटमा समावेश गर्न नसकेको भन्दै जवाफ दिएका थिए ।
पहिलो दिनको कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, समन्वय अधिकारी जनार्दन अधिकारीको स्वागत र समन्वय समितिका अधिकृत भावना पोखरेलको संचालनमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री दलबहादुर राना, लुम्विनी प्रदेशका महिला तथा बालबालिका मन्त्री रमा घर्ती, सभासद्हरू नारायण आचार्य, तुलाराम घर्तीमगर वसन्त, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलााल श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मथुरा ढकाल, राप्रपाका अध्यक्ष डुलबहादुर कँवर, राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामी, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, पत्रकार, कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । यस्तै गरि दोसा्रे दिनको बिहीबारको समीक्षामा जिल्लास्थित सरकारी कार्यालयहरूको प्रस्तुती रहेको थियो । दोस्रो दिन जिल्लास्थित सरकारी कार्यालयहरूले आफ्नो गत आ.व. ०७८
/०७९ मा सम्पन्न भएका कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।













